लोकतन्त्र संस्थागत भएमात्र शहिदको सपना पूरा हुने देउवाको भनाई

| 2020 Feb 19 | 08:04 am 2015

काठमाडौं, फागुन ७: नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको जनक्रान्तिले नेपाली जनता रैतिबाट नागरिक भएको जनाएका छन् । ७० औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै २००७ साल फागुन ७ गते
प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गरेका छन् ।

सभापति देउवाले आफ्नो वक्तव्यमा फागुन ७ गते नेपाली जन–सङ्घर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गरेका छन् । २००७ कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले नै १ सय ४ वर्षीय एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना गरेको देउवाको वत्ततव्यमा उल्लेख छ ।

प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्याएको सभापति देउवाको विज्ञप्तिमा उल्लेख छ । प्रजातन्त्रले जातजाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेद्भाव हटाएर शोषणरहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराएको पनि सभापति देउवाले उल्लेख गरेका छन् ।

सभापति देउवाको वक्तव्यमा प्रजातन्त्रले बलियो राष्ट्रियताको आधार पनि निर्माण गरेको र त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेको उल्लेख छ । देशमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौं सपूतहरुले प्रजातन्त्रको बलीवेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै उनले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सकेमात्र शहीदप्रति सच्चा सम्मान प्रकट हुने जनाएका छन् ।

प्रजातन्त्र स्थापनाको ऐतिहासिक दिनमा सभापति देउवाले सम्पूर्ण शहीदको त्याग र बलिदानको संस्मरण गर्दै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.