देशभरकै न्यूनतम तापक्रम वृद्धि, अधिकांश स्थानमा चिसो कम

| 2020 Feb 11 | 09:55 am 2307

काठमाडौं, माघ २८: देशभरिकै न्यूनतम तापक्रम वृद्धि हुने क्रमश बढ्दै गएको छ । देशका अधिकांश स्थानमा चिसो कम हुँदै गएको हो ।

मङ्गलबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ डिग्री सेल्सियसले बढेको पाइएको छ । सोमबार २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम मङ्गलबार बिहान ३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

काठमाडौंमा मङ्गलबार दिउँसोको तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै सोमबार माइनस ५.४ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको मङ्गलबार बिहानको तापक्रम माइनस ३.६ डिग्री सेल्सियसमा झरेको बताइएको छ ।

यसैबीच अबको तीन दिन देशभरिकै मौसम आंशिक बदली हुने मौसमविद्ले बताएका छन् ।

तत्काल पानी र हिउँ पार्ने प्रणाली सक्रिय नभएकाले अबको तीन दिन देशभरकै मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिएकी छन् ।

पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली तथा बाँकी ठाउँको मौसम एकैछिन बादल लाग्दै घाम लाग्ने खालको हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.