काठमाडौं, माघ २४: लामो समयदेखि विवादास्पद रहेका तपस्वी रामबहादुर बमजन सिन्धुलीस्थित बसेका आश्रमबाट पक्राउ आदेश गर्नासाथ भागेको प्रहरीले जानकारी दिएको छ ।
आफ्ना अनुयायी तथा आनीलाई आश्रमबाट बेपत्ता पारेको आरोपमा बमजनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले आदेश दिए लगत्तै प्रहरी पुग्दा फेला पार्न नसकेको सिन्धुली प्रहरीले बताएको हो ।
सर्लाहीका प्रहरी प्रमुख विश्वमणि पोखरेलका अनुसार, बमजनलाई पक्राउ गर्न पुगेका प्रहरी नभेटिएपछि रित्तै फर्केको बताए । बिहीबार साँझ पक्राउ पूर्जी जारी भएको तर शुक्रबार बिहानपक्राउ गर्ने भनिएकोमा उक्त सूचना चुहिएको हुन सक्ने अनुमान एसपी पोखरेलले गरेका छन् ।
बमजन धेरै टाढा नगई वरिवरिको जंगलमा लुकेको हुन सक्ने अनुमानका साथ हामी खोजी गरिरहेको पोखरेलले बताए । बमजन फेला नपरेपनि आश्रमबाट प्रहरीले चार जनालाई भने पक्राउ गरेको बताइएको छ ।
सिन्धुली प्रहरी प्रमुख श्यामबहादुर खत्रीले पनि बमजन आश्रममा फेला नपरेको पुष्टी गरेका छन् । अहिले वरिपरीको जंगल क्षेत्रमा कुकुरको सहयताले हामी उनलाई खोजिरहेको प्रहरी प्रमुख खत्रीले बताए।
बमजनले आश्रमबाट अनुयायी र आनीलाई बेपत्ता पारेको आरोप लामो समयदेखि लागिरहेको छ । सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर सञ्चमान वाइवालाई बेपत्ता पारेको आरोपमा उनलाई पक्राउ आदेश जारी गरिएको हो ।