राष्ट्रियसभामा कविताः समृद्धिलाई कोरोना भाइरसले खाइसक्यो

रिपोर्ट नेपाल | 2020 Feb 05 | 02:46 pm 1829

काठमाडौं, माघ २२: राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै समाजवादी पार्टीबाट निर्वाचित राष्ट्रियसभा सदस्य रामप्रित पासवानले भाइरस मुख्य कारक तत्व भएको कविता प्रस्तुत गरेका छन् ।

उनलेले चीनबाट फैलिएको कोरोना भाइरससँग जोेडेर त्यो भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिएको भन्दै व्यंग्यात्मक तरिकाले कवितको झटारो हानेर त्यस तर्फ चिन्ता गर्न सरकारलाई सचेत गराएका छन् ।

सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मुल्य र वेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित भएर युवाहरुले चोक चोकमा मुक्तक गाउने गरेको बताए ।

उनले भ्रष्टाचार, वेरोजगारी र चर्को बजारमुल्य प्रति व्यंग्य गर्दै बैठकमै कविता वाचन गरे ।

कविता 

‘नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि

अनायास देख्दै छन् दण्डहीनता र भ्रष्टाचारमा वृद्धि

तरकारी बजारदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगिसक्यो,

सैशवकालमै समृद्धिलाई कोरोना भाइरसले खाइसक्यो ।

समानता स्वतन्त्र सिकिस्त छन् , लोकतन्त्र पनि थला परिसक्यो

संघीयता , गणतन्त्र छटपटिदै छन् यहाँ ,

समावेशीताको पारा झरिसक्यो

आफ्नै भूमिका नागरिकता दिदैनौ ठानेर विदेशी

के अपराध भो जन्मनु भई जनजाति र मधेशी

गास, बास,कपास माग्दा कुरा मात्रै चिल्ला

जनता आवास, भूमि ऐन पनि कहाँ छ र गतिला ?

हिँड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ

सत्ता टिकाउन, विदेशी डलर पाउन आफैं किन बिक्छौ ?

यहाँसम्म कि सरकार,

यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठीक छौं ?

सरकार,

न्याय र समानताको नारा लगाउछौ बेस्सरी

समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?

ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,

जनता किन भोकै छ, गर्‍यौ कहिल्यै खोज ?

देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,

के पाए युवाले शिवाय तिरस्कार र अपमान

तिमीलाई छुट कसरी ? गर्न वाइड वडी र एनसेल काण्ड

पुर्खाको पौरख गुमाउँदै हसाई पुरै ब्रह्माण्ड ?

प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिइसक्यो

के गर्‍यौ सरकार, कुखुराको मूल्यले होलीको मुखैमा पिरोलिसक्यो ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.