डोटी, माघ २०: आएतबार छैटौँपटक डोटीमा हिमपात भएको छ । हिमपातसँगै परेको असिना–पानीका कारण यहाँका किसानले लगाएको तोरी तथा तरकारी खेतीका क्षति पुर्याएको छ।
जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिका विभिन्न वडामा आइतबार दिउँसो करिब १ बजे परेको असिनाका कारण फुलेर कोसा लाग्ने अवस्थामा रहेको तोरी तथा साग–तरकारीमा निकै क्षति पुर्याएको सायल गाउँपालिकाका स्थानीय सिद्धराज जोशीले जानकारी दिए।
उनका अनुसार हिमपतासँंगै एकाएक ठूलो असिना परेका कारण तोरी र तरकारी खेतीमा निकै ठुलो हानी नोक्सानी गरेकोले किसानलाई समस्यामा परेको जनाए।
शनिबार मौसममा एकाएक आएको परिवर्तनका कारण डोटीलगायत यहाँका अन्य पहाडी तथा हिमाली जिल्लामा दिउँसोदेखि हिमपात भएको र असिना परेको हो।
हिमपात तथा असिनाका कारण यहाँका पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ। योसहित यहाँका पहाडी जिल्लामा छैटौँ पटक हिमपात भएको हो।सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा मात्रै कम्तीमा पनि दुइँ फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ।
गत माघ १४ गते पाँचौँ पटक परेको हिउ पग्लन नपाउदै फेरी शनिवारबाट हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ। त्यहाँका बझाङ, बाजुरा तथा अछाम जिल्लाका उच्च लेकाली क्षेत्रमा शनिवारवार दिउसोदेखि एका एक हिमपात सुरु भएको हो।
हिमपात भएसँगै चिसो बढेपछि त्यहाँको जनजीवन पनि प्रभावित भएको हो। डोटीकोे खप्तड स्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी क्षेत्रमा भारी हिमपात र असिना परेको खवर आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
केही दिन पहिलेको हिमपातले हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुसी भएका यहाँका लेकाली क्षेत्रका स्थानीय भने आइतबार परेको हिउँ तथा असिनाले गहुँ लगायतका बाली कुहिने तथा बिग्रिने भन्दै चिन्तित बनेका छन्। नेपाल समाचारपत्रबाट