बारा प्रहरीद्वारा विभिन्न कार्यमा संलग्न व्यक्तिहरु पक्राउ

रिपोर्ट नेपाल | 2020 Feb 02 | 08:40 pm 1911

बारा, माघ १९: बहुविवाह मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका वडा नं ८ का ४८ वर्षीय अवध नारायण चौधरी र उनका श्रीमती ४६ वर्षीया मैना देवी थरुनी रहेका छन् ।

अभियुक्तहरु फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको २०७४ जेठ १७ गते फैसला आदेशले बहुविवाह मुद्दामा १ महिना र जनही एक हजार जरिवाना ठहर पश्चात फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले उनीहरुलाई कैद भुक्तानको लागि कारागार शाखा वीरगंजमा बुझाईएको बताइएको छ ।

साथै कुटपिट, चोरी मुद्दामा जरिवाना ठहर भई फरार रहेका अभियुक्तहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका वडा नं १ का ४८ वर्षीय कुलदिप भन्ने मखन बहादुर भण्डारी, बारा सिम्रौनगढ नपा वडा नं ९ का ३५ वर्षीय संदिप साह तेली र ६९ वर्षीय बंगाली साह तेली रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत प्रहरी ईकाई कार्यालय समेतबाट खटिएका प्रहरी टोलीले पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिए ।

हातहतियार तथा गोली सहित पक्राउ

बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ११ का ३८ वर्षीय दिपलाल रामको घरमा हातहतियार छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले निज दिपलाल रामको घरमा खानतलासी गर्दा खाट मुनि लुकाई छिपाई राखेको अवस्थामा अवैध नलकटुवा पेस्तोल १ थान र सोही कटुवामा लाग्ने गोली ६ थान समेत बरामद गरी दिपलाल रामलाई पक्राउ गरी निज उपर हातहतियार खरखजना मुद्धामा सम्मानित बारा जिल्ला अदालतबाट दिन ५ म्याद लिई थप अनुसन्धान कार्य भई रहेको बताइएको छ ।

लागूऔषध गाँजा सहित २ जना पक्राउ

इलाका प्रहरी कार्यालय सिमरा तथा ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं २१ स्थित चकरीबाट अम्लेखगंज तर्फ आईरहेको ना २० प ७९८२ नं. को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक बारा निजगढ नगरपालिका वडा नं १३ का ३७ वर्षीय मंगल सिंह तामाङ र पछाडी सवार जिल्ला रौतहट चनद्रपुर नगरपालिका वडा नं ८का ६५ वर्षीय गनहर बैठालाई शरिर खानतलासी गर्दा निज गनहर बैठाले पेटको भागमा सेतो कपडामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा करिब ५ सय ग्राम फेला पारी नियन्त्रणमा लिई निजहरु उपर लागूऔषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट दिन ५ म्याद लिई थप अनुसन्धान कार्य भई रहेको बुझिएको छ ।

ठगी गर्ने व्यक्ति पक्राउ

बिभिन्न मानिसहरुलाई नेटवर्किङ व्यपारमा फाईदा हुन्छ मलाई नागरिकताको फोटो र नगद ५ १० हजार दिनुहोस धेरै पैसा खातामा हालिदिन्छु भन्दै रकम असुल्ने र नागमणी पनि छ तपाईलाई दिन्छु यसको मुल्य २ करोड पर्छ भन्दै ठगी हिड्ने बारा कलैया उपमहा नगरपालिका वडा नं २६ महेशपुरका ३६ वर्षीय फुलसरिक मिया धोबीलाई इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएका प्रहरी टोलीले बारा जितपुरसिमरा उप महानगरपालिका वडा न १ पथलैयाबाट नियन्त्रणमा लिई तलासी लिदा निजको साथबाट १७ जना मानिसको नागरिकताको प्रतिलिपि, फोटो, चाँदीको भाडोमा रहेको सिसा जस्तो टल्किने बस्तु समेत फेला पारी निजलाई पक्राउ गरी निज उपर ठगी मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट दिन ५ म्याद लिई थप अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.