सिन्धुली, माघ ११: अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय बर्दिबासले घुस अभियोगमा एक इन्जीनियरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जीनियर दिलिपकुमार शाह रहेको अख्तियारले जानकारी दिएको हो । उनलाई शुक्रबार साँझ उपभोक्ता समितिसँग घुस लिएको अभियोमा गरिएको बुझिएको छ ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिबासका डिएसपी मधुकुमार थापाका अनुसार गाउँपालिकामा विद्युत विस्तारको काम गरेको एक उपभोक्ता समितिसँग घुस नदिएसम्म बिल फर्छ्योट गर्न नमानेपछि उनलाई अभियोग र नगदसहित पक्राउ गरिएको बताए ।
शाहलाई अख्तियार टोलीले कमलामाई नगरपालिका ६ को श्रेष्ठ होटलबाट उपभोक्ता समितिसँग चेक र नगद लिँदै गर्दा पक्राउ गरिएको हो ।
उनको साथबाट २ लाख २६ हजारको नगद र चेकसमेत नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए । लामो समयसम्म इन्जीनियरका कारण उपभोक्ताहरुले पैसा पाउन नसकेपछि इन्जीनियर शाहविरुद्ध अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई चेक र नगद लिँदै गर्दा पक्राउ गरिएको हो । उनीसँग बयान निले कार्य भइरहेको डिएसपी थापाले जानकारी दिए ।