रौतहट, पुस २४ः लामो समयदेखि तलब नपाएको भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षक तथा कर्मचारीहरुले ताला लगाएका छन्।
गत साउनदेखि तलब नपाएको भन्दै नगरपालिकामा कार्यरत शिक्षक, स्वास्थ्यका र अन्य कर्मचारीहरुले बुधबार नगरपालिकाको कार्यालयमा ताला लगाएका हुन्।
कर्मचारीले तलबको माग राख्दै गत असोज ६ गतेदेखी शान्तिपुर्ण रुपमा आन्दोलन गर्दै आएपनि नगरपालिकाले वेवास्ता गरेको बिजयपुर माविका प्रधानाध्यापक सुदामा यादवले बताए।
आन्दोलनरत कर्मचारीले तलब नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

उक्त कार्यालयमा जनप्रतिनिधिहरुको विवादले कर्मचारीलाइ मार परेकोले जतिसक्दो चाँडो तलब उपलब्ध गराउन कर्मचारीहरुको माग छ।
यस नगरपालिकामा मातहतमा १ सय ९३ जना शिक्षकसहित २ सय ८० भन्दा बढी कर्मचारी कार्यत छन्।
असार मै गरिसक्नुपर्ने नगर सभा समयमा नगरिदिँदा कर्मचारीहरुले तलब खान नपाएका हुन्।
गत पुस ११ गते नगरप्रमुख गोपाल रायले नगर सभा गरेको भएता पनि उपप्रमुख कान्ती देवीले विरोध गदै आएकी छिन्। नगरसभा सकिनासाथ सो कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहको सरुवा गरिएको थियो।
जसरी पनि प्रशासकीय अधिकृत ल्याउने भन्दै नगरप्रमुख राय अहिले काठमाडौं गएका छन्। कर्मचारीहरुले भने नगरपालिकामा अनिश्चतकालिन तालाबन्दी गरिदिएका छन्।