ट्राफीक व्यवस्थापनको लागि चालक र यात्रुमा संस्कार र सभ्यता आवश्यक रहेको सचिव कोइरालाको दावी

रिपोर्ट नेपाल | 2018 Jun 21 | 03:38 pm 1356

काठमाण्डौं, असार ७ : नेपाल सरकारका सचिव तथा काठमाण्डौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले सडक अनुशासनलाई कार्यन्वयन गराउनका लागि सडक सु शासन आवश्यक पर्ने बताएका छन् ।

महानगरीय ट्राफीक महाशाखाद्वारा बिहिबार आयोजित ट्राफीक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिबृद्धि साथै सवारी दुर्घटना न्यूनीकरण विषयक कार्यक्रमको उद्घाटन गर्दै सचिव कोइरालाले संस्कार सभ्यता सिकेमा मात्रै दुर्घटना न्यूनीकरण हुने बताएका थिए ।

सचिव कोइरालाले मोटरसाइकलका यूवा चालक प्रति इंकित गर्दै नागवेली तरिकाले चलाउने अनुशासन र सभ्यता विहिनबाट बढी दुर्घटना हुने गरेको बताए ।

काम भन्दा कुरा बढी गर्ने प्रबृत्तिलाई हटाएर हरेक सुधार आफूबाट शुरुवात गर्ने हो भने सडकमा ट्राफीक समस्या स्वत समाधान हुने कोइरालाको भनाइ रहेको थियो ।

अव महानगरपालिकाले काठमाण्डौंको सवारी जामलाई कम गर्नका लागि जिपीएस जडान गर्ने बताउदै जथाभावि बाटो क्रस गर्नेलाई कार्वाही गर्न ट्राफीक महाशाखासंग समन्वय गर्ने बताए ।

सचिव कोइरालाले यातायातको सिण्डीकेट समाप्त भएको अवस्थामा कुनै कम्पनीले आन्तराष्ट्रिय स्तरका ठूला सार्वजनीक साधन ल्याएमा महानगरले सहयोग गर्ने बताए ।

हास्यकलाकार किरण केसी (रातामकै) ले सबैको इच्छा शक्ति र दृढ संकल्प हुने हो भने ट्राफीक व्यवस्थापन र दुर्घटना न्यूनीकरण सम्भावना हुने बताए ।

कलाकार केसीले अहोरात्र सडकमा खटिने ट्राफीक प्रहरीको राज्यले नियमित स्वास्थ्य जाँच र पारिश्रमीक समेत बृद्धि गरिदिनुपर्ने कुरामा जोड दिए ।

काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले काठमाण्डौंमा रहेका चालक योग्यता र क्षमता हुँदा पनि अनुशासन हिनताले दुर्घटना बढेको बताए ।

विशेष गरी आफूलाई यूवा भन्ने र पढेलेखेका भन्नेबाट बढी ट्राफीक नियम उलंघन गर्ने गरेको बताए । प्रजिअ शर्माले नजान्नेलाई सिकाउन जति सजिलो छ नजाने झै गर्नेलाई बुझाउन त्यो भन्दा बढी कठिन भएको बताए ।

यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले यातायात साधन सहि हालतमा नहुनु र वर्कशंपको मापदण्ड नभएका कारण पनि समस्या रहेको बताएका थिए ।

नागरीक अभियन्ता कनकमणी दिक्षितले राजनीतिक अराजकताको कारणले सम्बन्धीत निकाय गैर जिम्मेवार भइदिदा
उपत्यकामा ट्राफीक चाँप र दुर्घटना बढेको बताए । सडक विभाग र यातायात व्यवस्था विभाग त्यही राजनीतिक अराजकताको भुमरीमा अल्झिएको दिक्षितको आरोप थियो ।

ट्राफीक प्रहरीको एकल प्रयासले मात्रै ट्राफीक समस्या समाधान गर्न नसकिने बताउदै दिक्षितले भने सबै भन्दा पहिला मोटरसाइकल व्यवस्थापन गरीनुपर्छ ।

सडक सभ्यता सम्बन्धी पाठ्यक्रममै राखेर प्राथमिक कक्षाबाट पढाइ शुरु गर्नुपर्ने दिक्षिको भनाइ रहेको थियो । ट्राफीक नियम जानौ पनि मानौ पनि भन्ने मुल नाराका साथ सम्पन्न उद्घाटन समारोहमा ट्राफीक महाशाखाका प्रमुख बसन्त पन्तले दिन दुई गुणा रात चार गुणा सवारी साधन बढ्ने गरेको बताए ।

१९५८ मा वीर शमशेरको पाला देखि एउटा कारबाट शुरु भएको ट्राफीक यात्रा आज ३० लाख भन्दा बढी सवारी रहेको एसएसपी पन्तले बताए ।

३० लाख ५२ हजार सवारी मध्ये झण्डै ११ लाख उपत्यकामा मात्रै गुड्ने गरेको पन्तको भनाइ रहेको थियो । कार्यक्रममा २०७४ श्रावण देखि २०७५ जेठ सम्म देशभर दुर्घटना भएको विवरण प्रस्तुत गरीएको थियो जसमध्ये दुर्घटना हुने गाडीको संख्या ९ हजार ८ सय ८९ रहेका छन् भने दुर्घटनाबाट २ हजार ३ सय १८ ले ज्यान गुमाउनु परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.