प्रधानसेनापति भारत प्रस्थान

रिपोर्ट नेपाल | 2019 Jan 11 | 05:27 pm 1786

काठमाडौं, पुस २७ :  प्रधानसेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलो पटक उनी आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सात जना छन् । भ्रमणका क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट भोलि सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज यहाँ जनाएको छ ।

दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै उनले आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.