७ लाखभन्दा बढीको नक्कली नोटसहित महिला पक्राउ

| 2023 Apr 25 | 12:41 pm 1385

जनकपुरधाम, बैशाख १२ः धनुषा प्रहरीले ७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ।

७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो। उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ।

जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारी साहको झोला तलाशी गर्दा यी नक्कली नोटहरु बरामद गरेको हो । महिलाले कालो रङको झोला बाकेर यताउती हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो। निज महिलाको खल्तीबाट नेपाली १० हजार ५ सय, भारतीय १६० समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए। उनले उक्त नक्कली नोट एक लाख बराबर ७ लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताए।

निज महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.