६ शव निकालियो, ३ अज्ञात, ६९ को सनाखत

रिपोर्ट नेपाल | 2023 Jan 17 | 08:00 am 1465

कास्की, माघ ३ः यती एयरको विमान दुर्घटनामा सोमबार ६ जनाको शव निकालिएको छ । आइतबार ६८ जनाको शव फेला पारे पनि ६३ जनाको मात्रै शव अस्पताल पुर्याइएको थियो । ५ जनाको शव दुर्घटनास्थलमै रहेको थियो भने ४ जनाको अवस्था अज्ञात थियो । दुर्घटनास्थलमा रहेका ५ शवलाई सोमबार उद्धार गरी अस्पताल लगिएको थियो भने अज्ञातमध्ये एक शव पनि फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

सनाखत भएका शवहरू

यो समाचार तयार पार्दासम्म पोखरा १३ काहुँडाँडाका २७ वर्षीय निशान्त आचार्य, पोखरा–१७ हाल काठमाडौं बस्दै आएकी २३ वर्षीया संगीता शाही, पोखरा–४ का ३८ वर्षीय डा. सुशील श्रेष्ठ, ३६ वर्षीया डा. सोना दिवाकर र उनका छोरा, पोखरा–१९ बाटुलेचौरका लक्ष्मी पौडेल, पोखरा–२६ का पूर्णकुमार गुरुङ, पोखरा–८ की एसमिन गुरुङ, पोखरा–१० बुद्धचोकका पुजन राना, पोखरा–११ का त्रिभुवन पौडेल, पोखरा–१७ छोरेपाटनकी जीवनकला गुरुङ, पोखरा–९ नागढुंगाका शालिकराम आचार्य, वन्दना सुनार, माछापुच्छे गाउँपालिका–२ भुर्जुङखोलाकी सीता गुरुङ, पोखरा–८ बगालेटोलकी अनुसा गुरुङ, शिवकुमार गुरुङ, पोखरा–३ नदीपुरका राजु सिंह ठकुरी, पोखरा–१ बगरका अनिल शाहीको सनाखत भएको छ ।

त्यसै गरी पर्वत कुश्माका १० महिने शिशु रियान पौडेल, कुश्मा कटुवाचौपारीकी बालिका प्रसिद्धी पौडेल, ४६ वर्षीय अरुण पौडेल, पर्वत मोदी–१ का विजयकुमार गुरुङ, रचना काफ्ले पौडेल, पर्वत विहादीकी जमुना शर्मा, रक्की गुरुङ, रुपन्देही शंकरनगर–८ का डा.गणेश थापा, काठमाडौंका लक्ष्मी परियार, रीता परियार र हरि परियार, नवलपुर कावासोती–६ का मोहनप्रकाश श्रेष्ठ, बागलुङ वडिगाड–३ की निरा छन्त्याल, चालक दलका पाइलट कमल केसी एयर होस्टेज बुटवल मुर्गियाकी सिर्जना हुन्चिङ, कोरियन नागरिक यु क्युङहुल, रसियन नागरिक जुरिज ल्याजिन, एलना, फ्रान्सेली नागरिक एलेक्सजेन्डरको सनाखत भएको छ ।

यसैबीच पोखरा–१३ मियाँपाटनका सदाकत अलिमियाँको शव आफन्तले बुझेका छन् । २७ वर्षीय अलिमियाँ आफ्नी सानिमालाई काठमाडौं छाड्न गएका थिए । सानिमा उमरा पर्व मनाउन साउदी जान लाग्नुभएको थियो । पोखरा–४ सिद्धार्थचोकमा इलेक्ट्रोनिक्सको होलसेल पसल रहेका मियाँको २ वर्षकी छोरी छन् । पोखरा फर्कने क्रममा सोही विमानमा परी उनको मृत्यु भएको हो ।

परिचय पत्रका आधारमा सनाखत भएका शव पनि काठमाडौं लैजाने भनिए पनि समयाभावका कारण अस्पतालमै राखिएको छ । सोमबारसम्म परिवारले पहिचान गरेका शवबाहेक परिचयपत्रका आधारमा सनाखत भएकाको शव डीएनए परीक्षणका लागि काठमाडौं लगिने कार्यक्रम थियो । काठमाडौं शिक्षण अस्पतालका फरेन्सिक प्रमुखको नेतृत्वमा आएको विशेषज्ञ टोलीले पोखरामा छलफलपश्चात शवको वर्गीकरण गर्दै पोस्टमार्टम गर्ने कार्य शुरू गरिएको छ । अस्पताल स्रोतका अनुसार परिचयपत्रबाट सनाखत भए पनि शतप्रतिशत हुन नसक्ने भन्दै डीएनए परीक्षणका लागि काठमाडौं लैजानुपर्ने अवस्था देखिएको हो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.