काठमाडौं, २५ असार : ६ वर्षीय बालकको स्वास्थ्य उपचारको लागि १ लाख ३१ हजार एकसय रुपैयाँ प्रदान गरेका छन् । अर्घाखाँची छत्रदेव गाउँपालिकाका समाजसेवी सचिन पाण्डे, शिवदेव पाण्डे र क्लबका अध्यक्ष ऋषि धमलाले संयुक्त रूपमा उक्त रकम हस्तान्तरण गरेका हुन ।
अर्घाखाँची भूमिकास्थान वडा नम्बर १ का ६ वर्षीया बालक विशेष बेल्वासेलाई आज रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गर्री नगत प्रदान गरेका हुन् ।
बेल्वासेको स्वास्थ्य स्थिति दयनिय समाचारमा पढेपछि सचिन पाण्डेले ‘विशेष बचाउ’ अभियान सुरु गरेका थिए । यही असार ५ गतेबाट सुरु गरिएको ‘विशेष बचाउ’ अभियानमा देश तथा विदेशमा रहेका नेपालीहरू संलग्न भएको र सक्दो सहयोग गरेको सचिन पाण्डेले बताए ।
‘मैले त्यो समाचार पढेँ र यी बाबुलाई बचाउनुपर्छ, भविष्यका कर्णधार यिनै हुन, असहजता र आपतको बेलामा सहयोग गर्नुपर्छ भन्ने भावनाले सामाजिक सञ्जालमा त्यो कुरा राखेपछि अर्घाखाँचीकै एक जना दिदी सुशिला बस्यालले ५० हजार उपलब्ध गराउनुभयो, त्यस्तै सहयोगी मनहरूले गर्दा सानो सहयोग जम्मा गरेका छौँ,’ उनले भने ‘आगामी दिनहरूमा यी बाबुको उपचारमा साथ दिनेछौँ, र सहयोगी मनहरूलाई यस्तो दुःखमा जिन्दगी बिताइरहेका पीडितहरूलाई साथ सहयोग गर्न आग्रह गर्दछु ।’
बालक विशेषका बाबा खिमानन्द बेल्वासे दुवै मृगौला फेल भएर बाँचिरहेका छन् । आमा बिमला बेल्बासे छोरा र श्रीमान्लाई बचाउनको लागि भौतारीरहेकी छिन् ।