६ वर्षमा ९२६ जनाले गरे आत्महत्या !

रिपोर्ट नेपाल | 2018 Sep 04 | 10:36 am 1866

बुटवल, भदौ १९: रुपन्देहीमा मात्र छ वर्षमा ९२६ जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष ०७०/७१ देखि ०७५/७६ को साउन मसान्तसम्म रुपन्देहीमा आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष छन् । आत्महत्या गर्नेमा २० वर्षदेखि ४५ वर्ष उमेर समूहका बढी छन्। ०७०/७१ देखि चालु आवको साउन मसान्तसम्म ४ सय ६१ पुरुष र ४ सय १५ महिलाले आत्महत्या गरेका छन् ।

यस्तै ११ जना १६ वर्ष मुनिका बालक र ३२ जना बालिका तथा ६ जना विदेशी पुरुष र १ जना विदेशी महिलाले पनि आत्महत्या गरेका छन् । आत्महत्या गर्ने विदेशीहरुमा सबै भारतीय हुन् ।

गत आर्थिक वर्षको साउन महिनामा मात्रै १७ जनाले आत्महत्या गरेका छन् । जसमा ८ जना पुरुष छन् भने ९ जना महिला छन् । आव ०७०/७१ मा १८० जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ । जसमा ९१ पुरुष, ७३ महिला, ४ बालक, ७ बालिका, २ विदेशी पुरुष र १ विदेशी महिला छन् ।

आव ०७१/७२ मा १५६ जनाले आत्महत्या गरेका थिए । जसमा ७२ पुरुष, ७५ महिला, एक बालक, ७ बालिका र २ विदेशी पुरुष छन् ।

आव ०७२/७३ मा १६५ जनाले आत्महत्या गरेका थिए । जसमा ८३ पुरुष र ७० महिला छन् । यस्तै २ बालक, ९ बालिका र एक विदेशी पुरुष छन् ।

आव ०७३/७४ मा १८१ जनाले आत्महत्या गरेका छन् । जसमा ९३ पुरुष, ७९ महिला, २ बालक र ९ बालिका छन्। आर्थिक वर्ष ०७४/७५ मा जिल्लामा २ सय २६ जनाले आत्महत्या गरेका थिए । जसमा ११४ पुरुष छन् भने १०९ जना महिला छन् । यस्तै २ बालक र एक विदेशी पुरुष छन् । यीमध्ये अधिकांश झुण्डिएर र त्यसमाथिका धेरैले विष सेवन गरी आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ।

आगो लगाएर, हामफालेर, औजार प्रयोग गरेर पनि आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ। आत्महत्याका घटना बढ्नुमा मानसिक तनाव, प्रेम सम्बन्ध बिच्छेद, बहुविवाह, आत्मग्लानी, महत्वकांक्षा पूरा नहुनु र गरिबी लगायत मुख्य कारण देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेल बताउँछन्।

‘मान्छे चाहिने भन्दा बढी महत्वाकांक्षी हुनु र ती महत्वाकांक्षा पूरा नहुँदा, चाहेको कुरा प्राप्त गर्न नसक्दाको अवस्थामा आत्मबल कमजोर हुनेहरु र अमूल्य जीवनको महत्व नबुझ्नेहरुले आत्महत्याको गलत बाटो रोज्ने गरेको देखिन्छ,’ डीएसपी ढुंगेल भन्छन्, ‘आत्महत्या एउटा जटिल सामाजिक समस्या बनेकाले यसविरुद्ध जनचेतनामूलक अभियान चलाउनुपर्ने देखिन्छ ।’

घरायसी विवाद, अशिक्षा, गरिबी, दीर्घ रोग, पारिवारिक विछोडले गर्दा पनि आत्महत्या गर्ने बढ्दै गएको मनोरोग विशेषज्ञ डा. मनोज ढुंगाना बताउँछन् । कसैको आत्मबल कमजोर र आत्महत्याको प्रयास गरेको पाइएमा विशेषज्ञ डाक्टरकहाँ उपचारमा ल्याएमा त्यस्ता मान्छेहरुको सोंचमा परिवर्तन ल्याई बचाउन सकिने डा. ढुंगाना बताउँछन् ।

‘आत्महत्याको संकेत पाइएपछि बेवास्ता गर्नुहुँदैन, राम्रो व्यवहार गर्ने र उपचारमा ल्याउनुपर्छ,’ उनले भने, ‘आत्महत्याविरुद्ध विद्यालयस्तरबाटै पाठ्यक्रम राखेर सचेतना अभियान चलाउनुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.