काठमाडौं, जेठ २३ : नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले ६५ वर्ष उमेर पूरा भएकाहरुलाई वृद्धभत्ता दिन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै कांग्रेस सचेतक समेत रहनु भएका खाँडले वृद्धभत्ता दिने उमेर ६५ वर्ष कायम गर्न माग गरेका हुन्।
बैठकमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्षमा झार्ने निर्णय गरेकाे भन्दै सांसद खाँडले भने, ‘वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्ष बनाउन म जोडदार माग गर्दछु ।’
पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको सम्मृद्धि हासिल गर्न नसक्ने दाबी उनकाे दाबी छ । उनले भने ‘कागजको घोडा जस्तै बजेट। न यसले घाँस र दाना खाला, न यसले सवारी बोक्न सक्ला? ऋणात्मक बजेट जो पूँजीगत खर्च गर्न सकेको छैन। पूँजीगत खर्च गरेर शान्ति र सम्मृद्धि ल्याउनुपर्यो नि। पूँजीगत खर्च गर्न नसक्ने , विकास खर्च गर्न नसक्ने। बजेट वृद्धि हुने, विकासमा वृद्धि नहुने, चालु खर्चमा वृद्धि हुने, चालु खर्च नपुग हुने , विकास खर्च गर्नै नसक्ने, त्यसैले यो कागजको घोडा भयो।
उनले कागजको घोडा दौडाएर कहिँ नपुगिने बताउँदै भने, ‘होर साल कागजको घोडा अलि सानो थियो। यसपाली कागजको घोडा अलि ठुलो भएछ। अझै ठुलो बनाइदिएको भए पनि हुन्थ्यो।’
नेता खाँणले अझै ठूलो बजेट बनाएको भए रेलै आउने भन्दै कटाक्ष गरे। ‘ठूलो बनाएको भए सायद पानी जहाज आउँथ्यो होला। रेल आउथ्यो होला। जनतालाई पानी जहाज र रेल चढ्ने इच्छा छ’, उनले भने, ‘देशभित्रै पानीजहाज चढ्ने इच्छा छ। त्यो इच्छा पुरा गर्थ्यो होला। तर यो कागजको घोडाले त्यो इच्छा पुरा गर्ने भएन। त्यसो भएर दुख लाग्या छ।’