६० लाख लागतमा निर्माण भएको सभाहल

रिपोर्ट नेपाल | 2019 Jul 28 | 07:20 pm 2280

  • सन्तोष महतारा

गुल्मी, साउन १२:  इस्मा गाउँपालिकामा बनेको सभाहलले यतिबेला चारैतिर चर्चा कमाएको छ । प्रदेश पाँचको ६० लाख बजेटमा गाउँपालिकाले उक्त सभाहल निर्माण गरेको हो । सभाहल स्टिमेट अनुसार नै बनेको गाउँपालिकाको प्रतिक्रिया छ ।

तर टिनको छानो सहितको सामान्य टहरो बनाउन ६० लाख नलाग्ने भन्दै इस्मा गाउँपालिका नेपाली कांग्रेस जागरण कार्यदलले अनुसन्धान थाल्ने तयारी गरिरहेको चन्द्र बहादुर महतले जानकारी दिए ।

मदाने गाउँपालिकामा बनेको ६० लाख लागतको सभाहलसँग तुलना गर्दै टिनको टहरो बनाएर बजेट सकेको भन्दै स्थानिय आक्रोसित समेत बनेका छन् । स्टिमेट अनुसार नै सभाहल बनेपनि ६० लाखमा टिनको टहरो बनाउने स्टिमेट कस्तो खालको होला भन्दै इस्मा गाउँपालिका नेपाली कांग्रेस कार्यदलले आपत्ति जनाएको छ ।

केहि नबुझी बेइज्जत गरियोः नेकपा इस्मा अध्यक्ष पैयानी

नेपाल कम्युनिष्ट पार्टी नेकपा इस्मा गाउँपालिका अध्यक्ष नारायण पैयानीले भने सभाहल सम्बन्धि सामाजिक सञ्जालमा गरिएको प्रचार नसुहाँदो भएको प्रतिक्रिया दिएका छन् ।

उनले सभाहलको स्टिमेट के हो ? खर्च कहाँ कति भयो ? प्राविधिक मुल्यांकन कसरी भयो ? अनुगमन समितिले अवलोकन गरी कि गरेन केहि नबुझी जिम्मेवार ब्याक्ति गैरजिम्मेवार बनेर सामाजिक सञ्जालमा प्रचार गरिनु आपत्तिको बिषय बनेको बताएका छन् ।

अध्यक्ष पैयानीले कुनै ब्याक्तिगत दुश्मनीका कारण फेसुबक लगायतकमा बेइज्जत गरिनु गैरकानुनी भएको भन्दै राजिनितिक विरोध नगरिकन बुझेर जानेर मात्रै प्रचार गर्न आग्रह गरेका छन् ।

हचुवाको भरमा प्रचार गरियोः गाउँपालिका प्रमुख बिष्ट

इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले सामाजिक सञ्जालको पछि नलाग्न आग्रह गरेका छन् । हचुवाको भरमा सामाजिक सञ्जालमा बेइज्जती गर्नेलाई मैले केहि पनि भन्दिँन प्रमुख बिष्टले भने “सामाजिक सञ्जालमा गरिएको गलत प्रचार गैरजिम्मेवार छ ।”

गाउँपालिकाले २५ दिनमा सभाहल निर्माण गरेको स्विकार गरेको छ । बाहिरी भवन २५ दिनमै सकिएपनि काम चलिराखेको र अन्तिम चरणमा पुगेको अब केहि दिनमा सकिने इस्मा गाउँपालिका प्रमुख बिष्टले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.