५ हजार ६४४ उद्योगलाई विदेशी लगानीको स्वीकृति

रिपोर्ट नेपाल | 2022 Dec 24 | 07:39 am 909

काठमाडौं, पुस ९ः नेपालमा हालसम्ममा पाँच हजार ६ सय ४४ ओटा उद्योगलाई विदेशी लगानी स्वीकृत गरिएको छ । जसमध्ये गत मंसिर महिनामा मात्र १६ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिइएको उद्योग विभागले जनाएको छ । विभागले गत कात्तिकमा पनि २४ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिएको थियो ।

मंसिरमा स्वीकृति दिएका १६ ओटै उद्योग साना उद्योग हुन् भने कात्तिकमा एउटा ठूलो उद्योगलाई, ४ ओटा मझौला उद्योगलाई र १९ ओटा साना उद्योगलाई स्वीकृति दिइएको हो ।

मंसिरमा मात्र पाए १६ उद्योगले स्वीकृति

मंसिरमा स्वीकृति दिइएकामध्यै २ ओटा उत्पादनमुलक, ८ ओटा पर्यटनमुलक र ६ ओटा सेवामुलक रहेका छन् । यसैंगरी कात्तिकमा स्वीकृति दिइएका विदेशी लगानीहरुमका १२ ओटा पर्यटनमुलक, सेवामुलक १० ओटा, पूर्वाधार र सूचनाप्रविधि १÷१ ओटा रहेका छन् ।

मंसिर महिनामा स्वीकृति पाएका १६ ओटा उद्योगहरुबाट ८४ करोड ९० लाख पुँजी लगानी गर्ने उद्योग विभागले जनाएको छ । यो लगानीबाट ६ सय ९४ जनाले रोजगारी पाउनेछन् । १६ ओटा उद्योगलाई लगानी स्वीकृत गर्दा २३६ जना लगानीकर्ताले विजनेस भिसा पाएका छन् । यसैंगरी १९ जना प्रतिनिधिले भिसा पाएका छन् । उनीहरुसँगै ४० जनाले आश्रितका रुपमा विजेनस भिसा पाउने भएका छन् ।

गत कात्तिक महिनामा भने २४ ओटा उद्योगले विदेशी लगानी स्वीकृत पाउँदा ३ अर्ब ६५ करोड कुल विदेशी लगानी भित्रिने छ ।

उद्योग विभागका अनुसार हालसम्ममा ३ सय २३ ओटा ठूला उद्योगले विदेशी लगानी स्वीकृति पाएका छन् भने ६ सय २२ ओटा मझौला उद्योगले स्वीकृति पाएका छन् । त्यसैंगरी ४ हजार ६ सय ९९ ओटाले साना उद्योगका लागि स्वीकृति पाएका छन् ।

यिनीहरुमध्ये सवैभन्दा वढी सेवामुलक उद्योग रहेका छन् । विभागको तथ्यांकअनुसार यस्तो स्वीकृति पाउने उद्योगको संख्या १ हजार ८ सय ७३ ओटा छन् । यसैंगरी १ हजार ८ सय ६३ ओटा पर्यटनमुलक उद्योगले हालसम्ममा स्वीकृति पाएका छन् । उत्पादनमुलक भने १ हजार २ सय ७१ ओटा छन् ।

यी उद्योगमा हालसम्म कूल चार खर्ब ३१ अर्ब ७१ करोड ८७ लाख ५८ हजार बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्यांकबाट देखिन्छ ।

त्यस्तै, हालसम्म प्रस्ताव स्वीकृत भएकाहरुमा ऊर्जामूलक उद्योग ९१, कृषिमूलक दुई सय ९५, खनिजमूलक ७२, पूर्वाधार उद्योग ५५ र सूचना प्रविधि उद्योग एक सय २४ छन्।

हालसम्म वैदेशिक लगानी भित्रिएका पाँच हजार ६ सय ४४ उद्योगबाट दुई लाख ९८ हजार ६ सय २९ जनाले रोजगारी पाउने तथ्यांकले देखाएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार ६ अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुन्छ। त्योभन्दा माथिको लगानी भने लगानी बोर्डको कार्यालयले स्वीकृत गर्ने प्रावधान रहेको छ।

उद्योग विभागले आर्थिक वर्ष २०७८÷७९ सम्ममा ५ हजार ५ सय ३३ ओटा विदेशी लगानी स्वीकृत गरेको थियो । विभागाले सो आर्थिक वर्षमा २ सय ९५ ओटा उद्योगलाई र आर्थिक वर्ष २०७७÷७८ मा १ सय ८४ ओटालाई विदेशी लगानीका लागि स्वीकृति दिएको थियो ।

गत असारसम्म कुल ४ खर्ब १९ अर्ब विदेशी लगानीका लागि स्वीकृत हुँदा आव २०७८÷७९ मा ५४ अर्ब १५ करोड र आव २०७७÷७८ मा ३२ अर्ब ७ करोड विदेशी लगानीका लागि स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।

हालसम्ममा विदेशी लगानीका लागि स्वीकृति दिंदासम्ममा कुल २ लाख ९२ हजार १ सय २० जनाले रोजगारी पाउने तथ्यांक उद्योग विभागको रहेको छ । राजधानी दैनिकबकाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.