५६ वर्षअघि जिप गुडेका ठाउँमा ट्याक्टर गुड्न गा-हो

रिपोर्ट नेपाल | 2023 Apr 07 | 07:24 am 1321

उदयपुर,चैत २४ः उदयपुरको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढीमा ५६ वर्षअघि जिप गुड्थ्यो । जतिबेला अन्य भेगका मान्छेका लागि सवारीसाधन कस्तो हुन्छ ? समेत थाहा थिएन । २०२३ सालमै जिप कुदेको ठाउँमा अहिले ट्याक्टर पनि सजिलोसँग गुड्दैनभन्दा अचम्म लाग्छ । यथार्थ यही हो ।

यो ठाउँमा २०२३ सालमै पहिलोपटक जिप पुगेको थियो । सदरमुकाम भएको बेला पहिलोपटक सप्तरीको फत्तेपुर, गाईघाट, नेपालटार, सिराहाको गोदार, त्रिवेणी, अम्टाई, रिस्कु हुँदै त्यहाँ जिप पुर्याइएको थियो । उदयपुरगढीमा मोटर पुगेको गाडी पुगेको ५६ वर्ष बितिसक्दा समेत सडक बन्न सकेको छैन ।

नेपालटार बजारको मदन भण्डारी लोकमार्गदेखि ९ किलोमिटर दूरीमा रहेको उदयपुरगढीसम्म जाने सडकको स्तरोन्नत्ति हुन नसक्दा स्थानीयलाई समस्या छ । सडक स्तरोन्नत्तिका लागि प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत १ चैत २०७७ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालय र उदयपुरगढी गाउँपालिकाबीच ९ किलोमिटर सडक स्तरोन्नत्ति अर्थात् कालोपत्रे गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तीनवटै तहको लागत सहभागितामा निर्माण गरिनेगरी समझदारीपत्रमा हस्ताक्षर भएको उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले जानकारी दिए । तर, सो समझदारीपत्रमा हस्ताक्षर भएको योजना सञ्चालन नभईकन रद्द हुन पुगेको अध्यक्ष मगरले गुनासो पोखे ।

नेपालटारदेखि उदयपुरगढीको केन्द्र उदयपुरगढीसम्म ९ किलोमिटर सडक कालोपत्र गर्न करिब २७ करोड रुपैयाँ अनुमानित लागत तयारी गरिएको थियो । जसमा गाउँपालिकाले आफ्नो तर्फबाट लगाउनुपर्ने २ करोड रुपैयाँ त्यसबेला नै विनियोजन गरिसकेको थियो । त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएबमोजिम तत्कालीन केपी ओली नेतृत्वको संघीय सरकारले ल्याएको नीति तथा कार्यक्रममा नेपालटारदेखि उदयपुरगढीसम्म कालोपत्रे गर्ने योजना समावेश भएको थियो । तर, पछिल्लो सरकारले पूरक बजेट ल्याउने क्रममा नेपालटारदेखि उदयपुरगढीसम्मको कालोपत्रे गर्ने योजना काटिदिएको अध्यक्ष मगरले बताए ।

सरकारले आर्थिक वर्ष २०७८÷७९ सम्ममा सबै गाउँपालिका केन्द्रसम्म पुग्ने सडक स्तरोन्नत्ति गरी कालोपत्रे गरिसक्ने योजना अघि सारेको थियो । तर, यहाँ स्तरोन्नतिका लागि परेको योजना नै काटिदिएको उनको भनाइ छ ।

उदयपुरगढीको इतिहास पुनर्जीवन गर्दै तत्कालीन अवस्था झल्कने गरी पर्यटन केन्द्र बनाउन गाउँपालिकाले काम गरिरहेको उनको भनाइ छ । तत्कालीन २२ से २४ राज्यमा हाल चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ मा पर्ने चौदण्डीगढी राज्यको सहायक मुकाम बनाएर राखिएको ठाउँ हो, उदयपुरगढी । पृथ्वीनारायण शाहले राज्य एकीकरण क्रममा उदयपुरगढी कब्जा गरेर युद्धपोत स्थापना गरेको इतिहास रहेको स्थानीय बोधकुमार घिमिरे बताउँछन् । यहाँ २०२३ सालमै कच्ची सडक पुगिसकेको थियो । त्यहाँबाट २०२८ सालमा सदरमुकाम गाईघाट सारेपछि बिरानो बन्दै गएको गढी भग्नावशेषमा मात्र सीमित हुन पुगेको छ ।

जिल्लाको मध्य भाग, वरिपरि बेंसी अनि फाँट र बीचमा दम्स्याइलो डाँडो रहेको उदयपुरगढी समुद्री सतहदेखि १ हजार १ सय ५७ मिटर उचाइमा छ । ‘चारैतिरको भूभाग हेर्न, हिमाली र तराईका दृश्य देख्न पाइने ठाउँ गर्मीयाममा चिसो र शीतल हुने हुँदा पर्यटकको रोजाइमा पर्दै आएको छ,’ उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मगरले भने ।

२०२८ सालमा गाईघाट सदरमुकाम सार्नुअघि जिल्लाको प्रशासनिक र राजनीतिक केन्द्र रहेको उदयपुरगढीमा पञ्चावती मन्दिर, एक सय वर्षअघिका पुराना वरपीपलका चौतारी, विभिन्न संरचना पुनर्निर्माण गरिएका छन् ।

सदरमुकाम सरेपछि सो स्थानका बासिन्दाको बसाइँ सर्ने क्रमसँगै बिरानो बन्दै गएको गढी क्षेत्रलाई हाल सामान्य बस्तीबाहेक जंगल र वनस्पतिले ढाक्दै गएको छ । अध्यक्ष मगरका अनुसार ‘नेपाल भ्रमण वर्ष सन् २०२०’मा उदयपुरगढी देशभरका १ सय प्रमुख गन्तव्यमा छनोट भएको थियो ।

उदयपुरगढी गाउँपालिका–५ मा रहेको झन्डै २ सय ५० वर्षअघिको पुरानो गढीको भग्नावशेषलाई पुनर्जीवन दिने काम धमाधम भइरहेको छ । पुरानो गढी, तत्कालीन सैनिक बंकर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनाको भग्नावशेषका संरचनासहित पुनर्निर्माण गरिने उनले बताए । गाउँपालिका केन्द्रदेखि १ हजार ४ सय मिटर उत्तरमा रहेको पुरानो गढी पुनर्संरचनापछि यहाँ पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । तर, यहाँसम्म आउने सडक स्तरोन्नति र खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न नसकेकाले आन्तरिक पर्यटकसमेत आउन छाडेको अध्यक्ष मगरको भनाइ छ ।

उदयपुरगढी २६९.५१ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँपालिकामा बैधनाथ बैजनी खोला, माटेखोला, बडरे खोला, इन्द्रेणी पोखरी, ताप्ली पोखरी सिमानासम्म फैलिएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.