५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 03 | 10:17 am 2460

पर्सा, भदौ १८: नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

वीरगञ्जको घडिआर्व र माइस्थान चोकमा हुण्डी कारोवार भएको सूचनाका आधारमा कारवाही गर्दा स्रोत खुलाउन नसकेको भारी परिमाणमा नेपाली रुपैयाँ बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुई जना भारतीय र तीन जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

उहाँले अवैध कारोवारमा संलग्न भएको अभियोगमा पर्साको बिन्दवासनी गाउँपालिका–५ निवासी पवनकुमार गुप्ता, वीरगञ्ज–६ निवासी अजय मानन्धर, बारा सिम्रौनगढ नगरपालिका–१ निवासी अजयकुमार जैशवाल, भारत विहार रक्सौल निवासी अशोक श्रीवास्तव र भारत विहार रामगढवा निवासी सावीर मियाँलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए।

पक्राउ परेका मध्ये पवनकुमार गुप्ता र अजयकुमार जैसवाल अवैध मुद्राको मुख्य कारोवारी भएको अनुसन्धानबाट खुलेको नायब उपरीक्षक थापाले जानकारी दिए।

उहाँले आइतबार अपराह्न्न प्रहरीले गरेको छापामारीका क्रममा आठ जना व्यक्तिलाई नियन्त्रणमा लिएको मध्ये तीनको संलग्नता कारोवारमा नदेखिएपछि उनलाई छाडिएको बताए।
बरामद गरिएको रुपैयाँ र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि आजै राजश्व अनुसन्धान विभाग हरिहर भवन काठमाडौँ पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.