काठमाडौं, चैत २५ः सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद सम्झौता अनुसार काम नगर्ने ११ वटा कम्पनी तथा आपूर्तिकर्तालाई एकै दिन कालोसूचीमा राखेर कारवाही गरेको छ। कार्यालयको सोमबार बसेको बैठकले ती कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गर्ने निर्णय गरेको हो।
कार्यालयका सूचना अधिकारी तथा कानुन निर्देशक राजेश थापाले सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौंडाको सिफारिसमा कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिए। ‘कालोसूचीमा पर्नेमा ठूला निर्माण व्यवसायीभन्दा साना खालका छन्,’ उनले भने, ‘१०/१५ लाखको ठेक्का लिएर वर्षौंदेखि अलपत्र पार्ने ठेकेदार कम्पनी छन्।
कालोसूचीमा पर्नेमा बाराको विशाल कन्सट्रक्सन, जनजागृति कन्सट्रक्सन, मकवानपुरको हेटौंडा कन्सट्रक्सन, शर्मिला निर्माण सेवा, विनायक कन्सट्रक्सन, आरआर निर्माण सेवा र बी ब्रदर्श छन्। त्यसैगरी, काठमाडौंको नयाँ युग निर्माण सेवा, पर्साको शिव निर्माण सेवा, अभय कन्सट्रक्सन र रौतहटको सरस्वती कन्सट्रक्सन पनि कालोसूचीमा परेका छन्।
यी ११ वटै ठेकेदार कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखिएको हो। कार्यालयले साउनयता ५४ वटा फर्म/कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको छ। ‘
कालोसूचीमा पर्नेमा अधिंकाश निर्माण क्षेत्रका र कोभिड १९ सँग सम्बन्धित सामग्री उपलब्ध गराउने फर्मरकम्पनी परेका छन्,’ थापाले भने, ‘अघिल्ला वर्षको तुलनामा चालु आवमा कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ।’ कानुनतः सम्बन्धित कार्यालयले सिफारिस गरेको ६ महिनाभित्र कालोसूचीमा राख्नुपर्ने हुन्छ। नागरिक दैनिकबाट