५० हजार भूकम्पपीडितको ५ अर्ब वितरण रोकियो

रिपोर्ट नेपाल | 2020 Oct 04 | 08:43 am 2261

सिन्धुपाल्चोक, असाेज १८ः जिल्लाको इन्द्रावती गाउँपालिका–१२ स्थित भीमटारका राजेन्द्र दंगालको घर भूकम्पमा भत्कियो । सरकारले खटाएका प्राविधिक आएर परीक्षण गरिदेलान् भनेर निकै समय बाटो हेरे । नआएपछि आफैं घर ठड्याए । तत्काल बासको खाँचो टर्‍यो ।

घर भत्किएपछि बस्ने बास त चाहियो, उनले भने, वडासँग समन्वय गरेर घर बनाएँ । ढिलो गरी प्राविधिक आएर हेरे, मापदण्ड पुगेन भने । प्राविधिकको सल्लाहअनुसार घरमा नपुगेका कुरा थपेर त्यसलाई भूकम्पप्रतिरोधी पनि बनाएँ । प्राविधिकै सिफारिसमा उनले पहिलो किस्ता बुझे । तर उनले दोस्रो किस्ता अझै पाउन सकेका छैनन् । घर बनाउनेलाई मात्र किस्ता पाउन गाह्रो भयो, उनले भने, पाउनलाई पनि सोर्स लगाउनुपर्ने रहेछ ।

यस्तो समस्या दंगालको मात्र होइन । करिब ५० हजार भूकम्पपीडितले घर बनाएर पनि रकम पाउन सकेका छैनन् । साउनदेखि निजी आवास निर्माणका लागि अनुदान वितरण भएको छैन । करिब ५ अर्ब रकम वितरण रोकिएको हो । भूकम्पपीडितले घर बनाइसके पनि अझै रकम बुझ्न पाएका छैनन् ।

साढे दुई महिनादेखि रकम नपाएपछि पीडित र जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दैनिकजसो फोन गरेर गुनासो गरेको गर्‍यै छन् । प्रभावित ३२ वटै जिल्लामा यति बेला रकम वितरण हुन सकेको छैन । प्राधिकरणका अनुसार महालेखा नियन्त्रक कार्यालयले सिस्टम (प्रणाली) अपग्रेड गर्न खोज्दा यस्तो समस्या भएको हो । साउनबाट नयाँ सिस्टम लागू गर्ने भनिएको थियो ।

तर अहिलेसम्म सिस्टम चलेको छैन, प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने, प्रत्येक व्यक्तिका नाम एकल खाता कोष प्रणालीमा रहेको हुन्छ, जुन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । महालेखासँग एकल खाता कोष प्रणाली सञ्चालन गर्नेबारे विभिन्न चरणमा छलफल भए पनि सञ्चालनमा आउन नसकेको उनले बताए । जसले गर्दा पीडितलाई धेरै समस्या भएको हो, उनले भने ।  कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.