५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी

रिपोर्ट नेपाल | 2021 May 08 | 08:55 am 2717

काठमाडाैं, बैशाख २५ः सेरम इन्स्टिच्युटद्वारा उत्पादित कोरोनाविरुद्धको खोप खरिद बिचौलियाले बिथोलेको समाचार सार्वजनिक भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुमति प्राप्त २० लाख डोज खोप प्रतिडोज ४ डलरमा खरिद गरिएको मध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकी खोप वर्तमान विधि, परिस्थिति र भारतको अवस्थाले सेरमले नेपाललाई आपूर्ति गर्न आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ । थप ५० लाख मात्रा खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन ।’

मन्त्रालयले अन्य कम्पनीका खोपले औषधि व्यवस्था विभागवाट स्वीकृति पाएको र पाउने क्रममा रहेका जनाउँदै विज्ञप्तिमा उल्लेख गरेको छ, ‘नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनीतिक र अन्य माध्यमबाट प्रयास गरिरहेको छ ।’

यसैबीच नेपाललाई अत्यावश्यक रहेको कोरोना खोप खरिद प्रक्रिया बिथोलेको आरोप लागेको हुकुम डिस्ट्रिब्युटर्सले हालसम्म  नेपालले खरिद भएको भ्याक्सिनमा आफ्नो आधिकारिक सहभागिता नरहेको दाबी एक विज्ञप्तिमार्फत बिहीबार गरेको छ । ‘अक्सफोर्ड, अस्ट्राजेनेकाको अनुसन्धान तथा सेरम इन्स्टिच्युद्वारा उत्पादन गरिएको कोभिसिल्ड भ्याक्सिन नेपालमा आयात गर्न हुकुम डिस्ट्रिब्युटर्स आधिकारिक विक्रेता भए पनि अहिलेसम्म खरिद भएको भ्याक्सिनमा हाम्रो आधिकारिक सहभागिता नरहेको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ । नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.