नवलपरासी, साउन १३: नवलपरासीको महेशपुर भन्सारमा ५० लाख बराबरको चिनी खेर जाने भएको छ। लिलाम हुन नसक्दा ६ सय ९४ क्विन्टल चिनी सड्ने अवस्थामा पुगेको भन्सार कार्यालयका प्रमुख रामप्रसाद अर्यालले बताए। उक्त चिनी भारतबाट तस्करी गरी ल्याइएको अवस्थामा भन्सार र प्रहरीको टोलीले नवलपुर र पश्चिम नवलपरासीबाट बरामद गरेको हो।
खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाले चिनी रहेको बोरामा लेबल र सिल उल्लेख नगरिएकोले मापदण्डविपरीत रहेको भन्दै पत्र पठाएपछि लिलाम हुन नसकेको हो। भन्सार कार्यालयले परीक्षणका लागि बोरा र चिनीको नमुना खाद्य तथा गुण नियन्त्रण कार्यालयमा पठाएको थियो।
तर कार्यालयले चिनीको नमुना परीक्षण नगरी बोराको मात्र मापदण्ड हेरेर पत्र पठाएपछि चिनी लिलाम हुन नसकेको अर्यालले बताए। ‘खाद्य नियमावली २०२७ ले तोकेअनुसारको बोरामा खुलाउनुपर्ने विवरण नखुलाइएकाले चिनीको विश्लेषण गरिरहन परेन,’ खाद्य तथा गुण नियन्त्रण कार्यालयले पठाएको पत्रमा भनिएको छ। चिनी भने खान योग्य रहेको अर्यालको भनाइ छ।
तस्करी गरी ल्याइएकाले बोरा मापदण्डअनुसार नहुने भन्सार कार्यालयको बुझाइ छ। कानुनी झन्झटले गर्दा बरामद भएको उक्त चिनी लिलाम हुन नसके भन्सारमै सड्ने देखिएको छ।
खाद्य तथा गुण नियन्त्रण कार्यालयले पठाएको पत्रले लिलाम गर्न नसकिएपछि त्यसबारे भन्सार विभागमा जानकारी पठाइएको अर्यालले बताए। ‘लिलाम हुन नसके, नष्ट गर्न पनि सकिँदैन। अब चिनी गोदाममै सडेर जानुको विकल्प छैन’, अर्यालले भने। अन्नपूर्ण पाेस्ट दैनिकबाट