रामपुरमा ५०० लिटर अवैध मदिरा नियन्त्रण

रिपोर्ट नेपाल | 2018 Jul 13 | 12:17 pm 3954

पाल्पा, असार २९: इलाका प्रहरी कार्यालय रामपुरले ठूलो परिणाममा बिक्रि वितरणको लागि राखेको अवैध घरेलु मदिरा जफत गरि नष्ट गरेको छ।

अवैध घरेलु मदिरा सेवन गरि झै-झगडा तथा कुटपिट लगायतका घटनाहरु बढ्न थालेपछि त्यसलार्इ नियन्त्रण गर्न तथा इलाकालार्इ अवैध मदिराजन्य पदार्थबाट मुक्त गरि समाजमा दिगो शान्ती कायम गर्न अभियान स्वरुप यसलार्इ अघि बढाएको बताएका छन्।

जफत गरिएको मदिरा स्थानीय वडा सदस्य, उधोग वाणिज्य संघका अध्यक्ष, पत्रकार र रामपुर नगरपालिकाका प्रतिनिधि लगायतको उपस्थितिमा शुक्रबार नष्ट गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिएका छन्।

रामपुर नगरपालिका वार्ड नं ७ किसनबारीस्थित होटेललगायत अन्य विभिन्‍न स्थानमा स्टकको राखिएको ५०० लिटर भन्दा बढी अवैध घरेलु मदिरा प्रहरी निरीक्षक पाण्डेयको कमाण्डमा सर्च अप्रेसनको लागि खटिएको प्रहरी टोलीले बरामद गरेको थियो।

उक्त सर्च टोलीका प्रमुख निरीक्षक पाण्डेयले सो कार्यमा संलग्नलाई स्थानीयहरुकै रोहवरमा अवैध मदिराको सेवन पश्चात मानिसको शरीरमा पुर्‍याउन सक्ने शारीरिक, मानसिक, पारिवारिक , आर्थिक र सामाजिक असर बारेमा समेत करिब २० मिनेट सम्म सोही स्थानमा नै प्रशिक्षण समेत दिएका थिए ।

निरीक्षक पाण्डेयले समाजमा झैझगडा तथा कुटपिटको मुख्य कारक तत्वको रुपमा रहेको अवैध घरेलु मदिरा नियन्त्रणको कार्यलाई आगामी दिनहरुमा समेत अझ कडाईका साथ काम गरिने प्रतिबद्धता व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.