५०० प्रतिशतसम्म बढी मूल्य लिने जमलकाे ‘द कोरियन सप’मा शिलबन्दी

रिपोर्ट नेपाल | 2018 Oct 12 | 07:50 pm 1685

काठमाडौँ, असोज  २६ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा आज शिलबन्दी गरेको छ ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो । कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका क्रममा विभागले अनुगमन गरी शिलबन्दी गरिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिए ।

खरीद मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको अनुगमनका क्रममा देखिएको उनले बताए । अधिकृत पोखरेलले भने, “कोरियन सपले ७० देखि ५०० प्रतिशतसम्म मुनाफा राखेर कपडालगायत सामग्री बिक्री गरेको पाइयो ।”

उपभोक्ता संरक्षण ऐन, २०७५, कालोबजारी ऐन तथा सामाजिक अपराध ऐनबमोजिम उक्त पसलका सञ्चालकलाई कारवाही हुने उहाँले जानकारी दिए । कालोबजारी ऐनअनुसार व्यापारीले कुनै पनि उपभोक्तालाई सामग्री बिक्री गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन । विभागले बजार अनुगमनलाई तीव्रता दिएको उनको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.