छोराको प्राणकाे भिख माग्दै बाबुराम, अप्रेसनका लागि सहयोग गरिदिन दानवीरसँग बाबुरामकाे आग्रह

| 2019 Jan 29 | 04:08 pm 3664

काठमाडौं, माघ १५ : अर्घाखाँची मालारानीका बाबुराम अर्यालले पचास लाख खर्च गर्दा पनि ४ वर्षीय छोरा विवेक अर्याल ठिक नभएपछि अप्रेसनका लागि देश विदेशमा रहेका दानवीरसँग सहयोगको लागि आग्रह गरेका छन् ।

मङ्गलवार यूएईबाट विभिन्न दानवीरहरूले पठाएको रकम हस्तान्तरण गर्न रिपोर्ट नेपालको कार्यालयमा आएका बाबुरामले आफ्नो छोरो सबै नेपालीको छोरो सम्झिएर सहयोग गरिदिन आग्रह गरेका छन् । जन्मिएको केही समयपछि आकस्मिक रूपमा जिब्रो बढ्दै गएपछि अर्यालले छोराको उपचारको लागि भारतको एपोलो अस्पतालसम्म पुर्‍याए पनि उपचार हुन नसकेको बताए ।

पाल्पामा रहेको मिसन अस्पतालमा अस्ट्रेलियाबाट डा डेविड आएर उपचार अगाडी बढाउँदा समेत केही नभएपछि अहिले बाबुराम अर्यालले सहयोगको हात थाप्दै राजधानी काठमाडौँ आएका छन् । शिक्षण अस्पताल महाराजगंजमा उपचार गराइरहेका बालक विवेकको सुरुमा घाँटीको अप्रेसन र त्यसपछि जिब्रोको अप्रेसन हुने भएको छ ।

सन्तानको माया कतिसम्म हुन्छ प्राय सबैलाई जानकारी भएकै विषय भएकाले बाबुरामले पनि सक्दासम्म आफ्नै खर्चमा उपचार गरे तर केही उपाय नलागेपछि सहयोगको हात बढाएको बताउँछन् ।

केही दिन अगाडी नेपाल तरुण दल अर्घाखाँची काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित वनभोज कार्यक्रमबाट अध्यक्ष अर्जुन पोख्रेलले विवेक बचाउ अभियान थाल्ने घोषणा गरेपछि ५४ हजार नगद जम्मा रकम बालकका बुबालाई हस्तान्तरण गरिएको थियो ।

तरुण दलको आव्हानपछि अर्घाखाँचीकै सचिन पाण्डेले आफ्नो फेसबुकमा पोस्ट गरेपछि यूएईमा रहेको समाज कल्याण परिषदमा आबद्ध शालिक भुषाल, बिमल खनाल, खुमन ओली, रञ्जन गिरी र विकास श्रेष्ठको पहलमा जम्मा गरी पठाइएको ४५ हजार पाँच यस १४ रुपैयाँ रिपोर्ट नेपालको कार्यालयमा आई बालकका बुबा बाबुराम अर्याललाई हस्तान्तरण गरिएको थियो ।

बालकको प्राण बचाउन र अप्रेसन सफलताको कामना सहित भारतको नोयडामा रहेका प्रेम खनालको नेतृत्वमा ८४ हजार १ सय ६० रुपैयाँ पठाएको छ । त्यस्तै यूएईबाटै नारायण पोख्रेल र प्रकाश पोख्रेलको सक्रियतामा ५० हजार पठाइएको छ । दक्षिण कोरियाबाट यज्ञप्रसाद पोख्रेलको सक्रियतामा विभिन्न दानवीरबाट प्राप्त एक लाख ९० हजार रुपैयाँ समेत बालकका बुबालाई पठाइएको छ ।

त्यस्तै मलेसियाबाट खिमराज खनालको सक्रियतामा १० हजार ८० रुपैयाँ, दक्षिण कोरियाबाट देव गिरीबाट ५ हजार, सैनिक अस्पताल छाउनीमा कार्यरत डा रोशनकुमार झा र रामप्रसाद खनालबाट १५ हजार १ सय ५० नगद सहयोग भएको अर्यालले बताए ।

तरल पदार्थ बाहेक अन्य केही खान नहुने चार वर्षीय विवेक अर्यालको जीवन रक्षार्थ सहयोग गरिदिन रिपोर्ट नेपाल देश विदेशमा भएका दानवीरसँग आग्रह गर्दछ ।

सहयोग गर्न चाहने दानवीरले बालकका बुबा बाबुराम अर्यालको नाममा अर्घाखाँची सन्धीखर्कमा रहेको प्रभु बैङ्कको खाता नम्बर ११४०१३००९११२७१०००००१ मा जम्मा गर्न वा ९८४७३९४००० मा सम्पर्क गर्न सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.