काठमाडैं, साउन ११ : ठगी मुद्दामा दोषी ठहरिएपछि फरार रहेका रोशन कुमार खड्गी र प्रकृति श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगन्जबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार काठमाडैंबाट पक्राउ गरेको हो ।
काठमाडौँ जिल्ला अदालतको फैसलाले उनीहरूलाई मिति २०७४/०१/१७ गते दोषी ठहर गरेको थियो । साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका लेखा समिति सदस्य समेत रहेका रोशन र प्रकृतिलाई जनही रु ४७,६२,२२५ जरिवाना र १ वर्ष ६ महिना कैद सुनाएको थियो । काठमाडौँ जिल्ला अदालतले यस्तो फैसला सुनाए लगत्तै उनीहरू फरार भएका थिए ।
फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा आज पेस गरेको थियो । अदालतले कैद भुक्तानको लागि ‘जगन्नाथ देवल’ कारागार पठाइसकेको महाराजगन्ज प्रहरीले जनाएको छ ।
साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका संचालक समिति पदाधिकारीहरूले आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताहरुबाट रु ४,१७,५८,७९९ रकम संकलन गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरेको र निक्षेपकर्ताको सावा व्याज समेत फिर्ता नगररेको प्रहरीले जनाएको छ ।