४७ वस्तु आयातमा कडाइ

रिपोर्ट नेपाल | 2022 Feb 12 | 08:38 am 1829

काठमाडौं, माघ २९: व्यापार घाटा बढेर विदेशी विनिमय सञ्चितिमा दबाब पर्न थालेपछि नेपाल राष्ट्र बैंकले ४७ वस्तु आयातमा कडाइ गरेको छ। ४७ मध्ये ६ मा ५० प्रतिशत र बाँकी ४१ वस्तुको आयातका लागि शतप्रतिशत मार्जिनमा प्रतीतपत्र खोल्नुपर्ने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै उक्त वस्तुमा कडाइ गरेको हो। परिपत्रअनुसार अन्डा, गुलाफलगायत फूल, सुकेको तरकारी, सुपारी, केरा, छोकडा, मरिच, ससेज, कोका पाउडर, अचार, सोया सस, जुस, प्लास्टिकको सामान, ट्वाइलेट सप, मेडिकल पन्जा, एप्रोन, समुद्री जीवका माछा मासु, दूधको धुलो, कुकुरको पिठोलगायत वस्तु आयात गर्दा अग्रिम धरौटी (मार्जिन) राख्नु पर्नेछ।

यसअघि मोटरसाइकल, कारजस्ता सवारीका साधन, कस्मेटिक सामान, तास, काँचका सामान, सुन, गरगहनालगायत आयातमा पहिल्यै वस्तुको कुल रकम बराबर नै धरौटी राख्नुपर्ने भनिएको थियो। यो व्यवस्था यथावत् छ। सवारीसाधन आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था थियो।

यो व्यवस्थाले आयातमा नियन्त्रण हुने अपेक्षा राष्ट्र बैंकको छ। चालू आवको ६ महिनामा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको निर्यात हुँदा आयात ९ खर्ब ९९ अर्ब भएको थियो। आयात नियन्त्रण गर्न केन्द्रीय बैंकले चालेको यो कदम उपयुक्त रहेको पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन्। तर यो व्यवस्थाले साना व्यवसायीलाई मर्का पर्ने नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले बताए।

‘वस्तु आयात गर्नु तीन महिनाअघिदेखि बिनाब्याज रकम बैंकमा थन्क्याएर राख्न सक्ने अवस्था ठूला व्यवसायीको मात्रै हुन्छ,’ उनी भन्छन्, ‘आयातलाई नियन्त्रण गर्ने अल्पकालीन उपायभन्दा व्यवस्थापन गर्न जरुरी छ।  आयातमा मार्जिन राखेर समस्या समाधान नहुने उनको तर्क छ। ‘यसले पैसा भएका ठूला व्यवसायीलाई असर पर्दैन तर साना व्यवसायी मारमा पर्छन,’ अग्रवालले भने,‘ सञ्चिती बचतभन्दा यसले अझ समस्या ल्याउँछ। यो नीतिले अर्थतन्त्र सुधारोन्मुख हुँदैन।’ आयात अत्यधिक बढ्न थालेकाले शोधनान्तर घाटा बढ्न गएको हो। यसले विदेशी विनिमय सञ्चितिसमेत घट्ने संकेत देखिएपछि आयातमा कडाइ गरेको राष्ट्र बैंकको भनाइ छ।

शतप्रतिशत मार्जिन
–खाद्य उद्योगबाट प्राप्त अवशेष र रद्दी पदार्थ, जीवजन्तुको आहार
–छाला प्रशोधन वा रङसम्बन्धी निष्कर्षणहरू
–साबुन, चिल्लो पार्ने साधन, कृत्रिम मैनलगायत
–प्लास्टिक र प्लास्टिकका सामान
–तयारी छालाबाट बनेका सामान
–गलैंचा (कार्पेट)
–प्राकृतिक वा संवद्र्धित मोती, बहुमूल्य धातु, नक्कली गहना, क्वाइन
–अपधातु
–ठूलो घडी र सानो घडी, तिनका पार्टपुर्जा
–फर्निचर, डस्ना, खाट÷पलङ, चकटी र तकिया,
–कलाकृति
–माछा र क्रुष्टासियन
–दुग्ध उत्पादन, चराका फुल, प्राकृतिक मह
–जीवित रुख, गानो, जरा, कलमी बिरुवा र सजावटका पात
–झिंगे माछा, गँगटो
–चिनी र चिनीबाट बनेका पदार्थ
–कोको र कोकोबाट बनेका पदार्थ
–वनस्पति, फलफूल,
–विविध खाद्य परिकार
–पेय पदार्थ, स्प्रिट्स र सिरका
–सुर्ती
–काठ र काठबाट बनेका सामान
–पाउपोस, गेटर
–शिरपोस
–छाता, हिँड्दा प्रयोग हुने लट्ठी
–तयारी प्वाँख, भुवा, मानिसका रौंबाट बनेका वस्तु
–पत्थर, प्लास्टर, सिमेन्ट,
–चिनियाँ माटाका उत्पादन
–ल्वाङ
–सुगन्धित वा शरीर सफाइसम्बन्धी पानी
–कपालमा प्रयोग गरिने सामान
–काँचका बोतल
–सुन वा प्लाटिनममा चाँदीको जलप लगाइएको
–अन्य फर्निचर र तिनका पार्टपुर्जा
–तास
–केराऊ
–सुपारी
–अन्य
–तरकारीका रूपमा प्रयोग गरिने केरा
–खजुर, अँजिर, भुँइकटहर, अम्बा, आँप
–सुकेको वा पिँधेको खुर्सानी र मरिच
–मेकअपका सामान

५० प्रतिशत मार्जिन 
–सियोले बुनेको वा हुक सियोले बुनेको कपडा
–सलाईले बुनेको वा कुरुसले बुनेको पोसाक
–सलाई वा कुरुसले नबुनिएका पोसाक
–पुराना लुगाफाटा र पुराना कपडाका वस्तु
–मोटर कार
–मोटरसाइकल, साइड काररहित वा सहित   अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.