३ नम्बर प्रदेशका मुख्य मन्त्री पौडेल अचानक अस्पताल भर्ना

| 2019 Jun 03 | 12:23 pm 1817

काठमाडौं, जेठ २०: प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।

नियमित मुटुको परीक्षणका लागि मुख्यमन्त्री पौडेल काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना भएका थिए ।

त्रिहत्तर वर्षीय पौडेल सक्रिय दिनचर्या गरिरहेका उनी बुढ्यौली, उच्च रक्तचाप तथा मधुमेह भए पनि दैनिक १८ घण्टासम्म क्रियाशील रहने जनाइएको छ । उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो ।

पौडेलको गङ्गालाल हृदयरोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।

अस्पताल भर्ना भएसँगै मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगन गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.