३ असारसम्मको बजेट खर्च जम्मा ६२.८३ प्रतिशत मात्र

रिपोर्ट नेपाल | 2021 Jun 19 | 07:25 am 2509

काठमाडौं, असार ५ः पछिल्लो समय नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीका कारण मुलुकमा आर्थिक गतिविधि खुम्चिएसँगै त्यसको नकारात्मक असर सरकारको बजेट खर्चमा पनि देखिएको छ । चालू आर्थिक वर्षको बितेका ११ महिना तीनदिन अर्थात् ३ असारसम्मको बजेट खर्च जम्मा ६२.८३ प्रतिशत मात्र देखिएको छ ।

अहिलेसम्मको तथ्यांक हेर्दा राजस्व संकलनमा पनि सरकारलाई संशोधित लक्ष्यसमेत भेटाउन मुस्किल हुने देखिएको छ । सरकारले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत बजेट खर्चको अनुमान १४ खर्ब ७४ अर्बबाट घटाएर १३ खर्ब ४८ अर्ब ६८ करोड बनाएको थियो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार हालसम्म कुल बजेट खर्च ९ खर्ब २६ अर्ब ५२ करोड ३ लाख रुपैयाँ भएको छ । यो खर्च रकम वार्षिक विनियोजित बजेटको ६२.८३ प्रतिशत मात्र हो भने संशोधित लक्ष्यको ६८.७३ प्रतिशतबराबर मात्र हो ।

अहिलेसम्ममा सरकारको चालू खर्च ७ खर्ब ६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ रहेको छ । यो वार्षिक लक्ष्यको ७३.९३ प्रतिशतबराबर हो । यसैगरी, पुँजीगत खर्च १ खर्ब ४६ अर्ब ३७ करोड ४६ लाख रुपैयाँ अर्थात् ४१.४८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ७३ अर्ब १५ करोड ५ लाख रुपैयाँ अर्थात् ४२.३४ प्रतिशत बजेट खर्च भएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.