काठमाडौं, माघ १६ : धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । आज बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउण्डेसनका तर्फबाट सीताराम कट्टेल र भरतपुर महानगरपालिकाका तर्फबाट मेयर रेणु दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

समारोहमा प्रधानमन्त्री ओलीका साथै नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शशांक कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।
रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् ।

रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । ‘यो रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुनेछ,’ फाउण्डेसनका प्रमुख धुर्मुसले अनलाइनखबरसँग भने, ‘साथै हामी आईसीसीका सम्पूर्ण मापदण्डहरु पूरा गर्नेछौं ।’
रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ । अब गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको धुर्मुस बताउँछन् ।