३५ करोडमा सार्कस्तरीय प्रदर्शनी कक्ष

रिपोर्ट नेपाल | 2018 Aug 10 | 09:11 am 1495

काठमाडौं, साउन २५: नेपाल घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गर्ने भएको छ।

लामो समयदेखि लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको समितिले काठमाडौँको बत्तिसपुतलीमा सार्कस्तरीय लघु, घरेलु तथा साना उद्योग प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्न लागेको हो।

३५ करोडको लागतमा एउटा ठूलो र दुई मध्यम हलसहित ६ तल्ले भवन निर्माण गर्न लागिएको समितिका प्रवक्ता विश्वरमण आचार्यले जानकारी दिए। उक्त भवन ११ रोपनी क्षेत्रफलमा निर्माण गरिनेछ।

“भवन निर्माणले लघु, घरेलु तथा साना उद्योगको विकासमा सहयोग पुग्नेछ,” उनले भने। भवन निर्माणका लागि सरकारले चालू आवमा रु दुई करोड १० लाख विनियोजन गरेको छ।

सो भवन बहुवर्षीय योजनाअनुसार निर्माण हुनेछ। हाल समितिले देशभरका लघु, घरेलु तथा साना उद्योगको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपस्थित हलमा गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.