बर्दिया, कात्तिक २१ः ३० वर्ष कैद सजाय तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका -८ बस्ने बर्ष २४ को टोपे भन्ने अजिव बुढाक्षेत्री रहेका छन् ।
मिति २०७२/११/०५ गते रातिकाे समयमा साेही बस्ने बर्ष ६९ को जोरा सिंह भन्ने जोरे थापा आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा उनले घरायसी रिसिईबीका कारण टाउकोमा धारिलो हतियार दाउ (गड्सा) ले प्रहार गरी कर्तव्य गरी मारी फरार रहेका थिए ।
उक्त जानकारी प्राप्त भई तत्काल प्रहरी टोली खटिई निज प्रतिवादी टोपे भन्ने अजिब बुढा क्षेत्रीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको लागि हिरासतमा राखि सम्पूर्ण अनुसन्धान कार्य पुरा भए पश्चात मिति २०७२/११/३० गते सम्मानित बर्दिया जिल्ला अदालतमा उपस्थित गराईएको थियाे ।
उनको बयान कार्य सम्पन्न गरी प्रहरीको जिम्मा रहेको अवस्थामा निजले शौचालय जान्छु भन्ने बहाना गरी सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीले शौचालयमा लिई गएको अवस्थामा शौचालयको भ्यान्टिलेसनबाट निस्की भागि हालसम्म फरार रहेको र सम्मानित अदालतको मिति २०७३/०९/२४ गतेको फैसला आदेशले कर्तव्य ज्यान मुद्दामा १९ बर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे भगाएको मुद्दा समेतमा गरी जम्मा ३० बर्ष कैद सजाय तोकिएको थियाे ।
प्रतिवादी टोपे भन्ने अजिव बुढाक्षेत्री हालसम्म भारतमा लुकिछीपी बस्ने गरेकोमा भारतबाट आफ्नो घरमा आएको छ भन्ने विशेष सुचनाको आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०७९/०७/२१ गते निज टोपे भन्ने अजिव बुढाक्षेत्रीलाई पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालतमा बुझाईएकोमा सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाईएको प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बाेहराले बताए।