धादिङ, माघ १९: पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका २ कोइरालेमा २ वटा ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका ९ का किरण प्रताप गुरुङ्ग रहेका छन्।
मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए।
त्यस्तै घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते भएका थिए। उनीहरुलाई स्थानीय र प्रहरीले उद्धार गरि राती नै उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ।