२३ लाख ५० हजार अवैध नेपाली नोट सहित २ भारतीय र ३ नेपाली पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 25 | 02:29 pm 1481

पर्सा, कात्तिक ८: अवैध रुपमा नेपाली नोट लिएर भारतबाट नेपालतर्फ आउँदै गरेको दुई भारतीय सहित तीन नेपालीे पक्राउ परेका छन् ।

उनीहरुको साथबाट २३ लाख ५० हजार अवैध नेपाली नोट फेला परेको प्रहरीले जानकारी दिए

पक्राउ पर्नेमध्ये भारतको पूर्वी चम्पारण थाना सुगौली वडा नम्बर ८ का ४६ बर्षीय गोपाल प्रसाद अग्रवाल र भारत रामगढवा थाना ग्राम रामगढवा बस्ने ६० बर्षीय सकिर मिया रहेका छन्।

त्यसैगरी नेपालतर्फका बाराको खटुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ अहिर्वाटोलका ३२ वर्षीय वीरेन्द्र साह, बारा गढिमाई गाउँपालिका वडा नम्बर २ दौरुवाटोलका २६ बर्षीय सनि जैसवाल र वीरगन्ज महानगरपालिका वडा नम्बर १४ का २५ वर्षीय मन्टु कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र शाहीले बताए।

पक्राउ परेका अभियुक्तमध्ये भारतका अग्रवालको साथबाट ९ लाख, मियाको साथबाट ५ लाख बरामद भएको छ। त्यसैगरी बाराका वीरेन्द्र साहको साथबाट २ लाख ५० हजार, जैसवालको साथबाट पनि २ लाख ५० हजार र वीरगन्जका मन्टु कुमार साहको साथबाट ४ लाख ५० हजार स्रोत नखुलेको नेपाली नोट फेला परेको शाहीको भनाइ छ।

अभियुक्त मध्ये अग्रवाल र मन्टुलाई वीरगन्जको सीमा नाका शंकराचार्य गेट अगाडी र वीरेन्द्र, सनी र मियालाई वीरगन्जको रजतजयन्ती चोकबाट अवैध नोट सहित पक्राउ गरिएको उनले बताए। स्रोत नखुलेको रकमसहित पक्राउ परेका अभियुक्तहरु हुण्डी कारोवारी भएको हुन सक्ने प्रहरी अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।

सीमा नाकामा उताबाट यतातर्फ आउँदै गरेको अवस्थामा उनीहरु पक्राउ पर्नुले भारतबाट नै अवैध नोट नेपालतर्फ ल्याउँदै गरेको हुन सक्ने प्रहरीको अनुमान छ। सबै अभियुक्तलाई थप अनुसन्धान गरी आवश्यक कार्वाही प्रकृया अगाडी बढाइने पर्साका प्रहरी नायव उपरिक्षक शाहीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.