२०२२ मा सर्वाधिक कार्बन डाइअक्साइड उत्सर्जन

रिपोर्ट नेपाल | 2023 Mar 03 | 07:44 am 1757

काठमाडाैं, फागुन १९ः सन् २०२२ मा वायुमण्डलमा सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन भएको छ। सो उत्सर्जन सन् १९०० यताकै सर्वाधिक हो। कोभिड १९ महामारीपछि हवाई यातायातमा भएको पुनः वृद्धि र विश्वमा तुलनात्मक रूपमा कम मूल्य पर्ने कोइलाको अत्यधिक प्रयोगका कारण उक्त वर्ष कार्बन डाइअक्साइडको उत्सर्जन बढेको हो।

पृथ्वीको तापमान बढ्नुमा कार्बन डाइअक्साइडलाई प्रमुख कारक मानिन्छ। सन् २०२२ मा ऊर्जाजन्य कार्बन डाइअक्साइड उत्सर्जनमा ०.९ प्रतिशतले बढोत्तरी भएका कारण वायुमण्डलमा ३६.८ गिगाटन कार्बन डाइअक्साइड उत्सर्जन भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। एक गिगाटनबराबर १ अर्ब मेट्रिक टन हुन्छ। वैज्ञानिकका अनुसार वायुमण्डलमा उत्सर्जन भएसँगै यो ग्यासले तातोपनालाई सोसेर राख्ने भएकाले तापमान वृद्धि हुन जान्छ। कार्बन डाइअक्साइडको अत्यधिक उत्सर्जनका कारण गत वर्ष विश्वमा जलवायुजन्य विषम मौसमका घटना अत्यधिक भएको मानिएको छ। गत वर्षको खडेरीका कारण पानीको प्रवाहमा कमी आएकाले जलविद्युत् उत्पादनमा ह्रास आउँदा विद्युत् ऊर्जाका लागि खनिज इन्धनको प्रयोग बढेको थियो भने विश्वका विभिन्न स्थानमा तातो हावाको प्रकोप (हिट वेभ) बढ्दा चिसो बनाउन बिजुलीको माग ह्वात्तै बढेको थियो।

एजेन्सीले बिहीबार सार्वजनिक गरेको ‘सिओटु इमिसन इन २०२२’ नामक प्रतिवेदनका अनुसार सन् २०२२ मा ऊर्जाजन्य हरितगृह ग्यासको उत्सर्जनमा पनि १ प्रतिशतले बढोत्तरी भएर कुल ४१.३ गिगाटन कार्बन डाइअक्साइड बराबरको उत्सर्जन भएको छ। पृथ्वीको तापमान वृद्धिका लागि कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडलगायत हरित गृह ग्यासको प्रमुख भूमिका रहेको छ।

प्रतिवेदनअनुसार सन् २०२२ मा कोइलाजन्य उत्सर्जनमा १.६ प्रतिशत र तेलजन्य उत्सर्जनमा २.५ प्रतिशतले बढोत्तरी भएको छ। हरितगृह ग्यासमध्ये एक मानिने मिथेनको उत्सर्जन पनि गत वर्ष झन्डै रेकर्ड कायम भएको एजेन्सीले जनाएको छ। यसैगरी गत वर्ष विश्वव्यापी रूपमा हवाई यातायातको माग बढेका कारण २.५ प्रतिशतले हवाई इन्धनको प्रयोग बढेको थियो। युक्रेन युद्धका कारण ऊर्जाको मूल्यमा भएको वृद्धि, अकासिँदो मुद्रास्फीति र परम्परागत इन्धन व्यापार प्रवाहमा आएको अवरोधका कारण कार्बन डाइअक्साइड उत्सर्जन उक्त वर्ष कम हुने आकलन थियो।

कार्बन डाइअक्साइड उत्सर्जनमा गत वर्ष रेकर्ड कायम भए पनि नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन र चिसो पार्ने हिट पम्प्सको विश्वव्यापी प्रयोगमा आएको बढोत्तरीले कार्बन डाइअक्साइड उत्सर्जनको वृद्धिदरलाई नियन्त्रण गर्न सहयोग गरेको आइइएले जनाएको छ। यसैगरी वायु तथा सौर्य ऊर्जाको उत्पादन तथा प्रयोगमा गत वर्ष बढोत्तरी भएको पाइएको छ।

गत वर्ष युरोपले यसप्रकारको ऊर्जाको अत्यधिक उत्पादन र प्रयोग गरेको पाइएको छ। विश्वको सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने चीनमा गत वर्ष कार्बन उत्सर्जन स्थिर रहेको देखिएको छ।

कोभिड १९ नियन्त्रणका अवलम्बन गरिएको सख्त प्रावधान, भौतिक निर्माण कार्यमा आएको सुस्तता र औद्योगिक तथा यातायातजन्य उत्सर्जनमा आएको कमीका कारण चीनले गर्ने उत्सर्जनमा कमी आएको प्रतिवेदनमा उल्लेख छ। यसैगरी अत्यधिक उत्र्सजन गर्ने दोस्रो राष्ट्र अमेरिकाले प्राकृतिक ग्यासको अत्यधिक प्रयोग गरेका कारण अमेरिकामा गत वर्ष उत्सर्जन ०.८ प्रतिशतले बढेको छ। क्षेत्रीय हिसाबमा एसियाले सर्वाधिक ४.३ प्रतिशत कार्बन उत्र्सजन गरेको छ।

विशेषगरी रुस–युक्रेन युद्धका कारण एसियामा प्राकृतिक ग्यासको मूल्य बढ्दा कोइलाको प्रयोग अत्यधिक रहेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ।

‘स्वच्छ ऊर्जाको प्रयोग नभएको भए कार्बन उत्र्सजन तीन गुणाले बढ्न सक्थ्यो,’ एजेन्सीको कार्यकारी निर्देशक फतिह बिरोलले एक वक्तव्यमा भनेका छन्। उनले विश्वले जलवायु परिवर्तनका लक्ष्य हािसल गर्न कार्बन उत्र्सजनमा नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्।

पृथ्वीको तापमान औद्योगिक क्रान्ति सुरु हुनुअघिको अवधिभन्दा १.१ डिग्री सेन्टिग्रेडले बढिसकेको छ। जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यो शताब्दीको अन्त्यसम्म पृथ्वीको सरदर तापमान वृद्धि १.५ देखि २ डिग्री सेन्टिग्रेडभित्रै राख्न निर्देश गरे पनि यो अवधिमा पृथ्वीको तापमान साढे दुई डिग्रीभन्दा बढीले बढ्ने र यो लक्ष्य हासिल गर्न असम्भवप्रायः भएको वैज्ञानिक तर्क छ।

‘खनिज इन्धनको अत्यधिक प्रयोगका कारण जलवायु परिवर्तनका लक्ष्य हासिल गर्न कठिन देखिएको छ,’ एजेन्सीका कार्यकारी निर्देशक बिरोलले भनेका छन्, ‘यो अवधिमा अन्तर्राष्ट्रिय खनिज इन्धन कम्पनीहरूले रेकर्ड नाफा कमाइरहेका छन् र जलवायु परिवर्तनका लक्ष्य हासिल गर्न उनीहरू पनि प्रतिबद्ध हुनु जरुरी छ।’ नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.