१७ औँ अनसन बस्न बस्न डा. केसी डडेल्धुरा पुगे, यस्ता छन् मागहरु

रिपोर्ट नेपाल | 2019 Nov 04 | 04:33 pm 1456

काठमाडौं, कार्तिक १८ : मेडिकल शिक्षा सुधारका विभिन्न माग राखेर अनसन बस्दै आएका डा. केसी १७ औँ अनसन बस्न सोमबार सुदूरपश्चिमको डडेल्धुरा पुगेका छन् । सोमबार उनी आफ्ना सहयोगीहरुलाई पनि थाहा नदिई डडेल्धुरा पुगेका हुन् ।

यसअघि उनी नेपाल चिकित्सक संघको भवनमा अनसन बस्नो तय भए पनि एक्कासी डडेल्कुरा पुगेका केसीका सहयोगीले बताएका छन् । उनले सहयोगीलाई पनि डडेल्धुरा पुगेपछि मात्र खबर गरेका थिए ।

डा. केसीले सोमबार नै जिल्ला अस्पताल डडेल्धुरामा रक्तचाप र रगतमा चिनीको मात्रा जाँच गराएका छन् । उनले अनसन बस्नुअघि यी जाँच गराउँदै आएका छन् ।

यस्ता छन् डा. केसीका १७ औँ अनसनका मागहरु

१.२०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

२.विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

३.आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।

४.संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतका निर्णय तत्काल खारेज गरियोस् ।

५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस  कार्यक्रम सञ्चालन गर्नुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने । प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने ।

६.संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.