१६ हजार पोर्न साइटमा प्रतिबन्ध

रिपोर्ट नेपाल | 2018 Oct 01 | 12:35 pm 4404

काठमाडौं, असोज १५: नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा चल्दै आएका १६ हजार पोर्न साइटमाथि प्रतिबन्ध लगाएको छ। सरकारले समाजमा यौनहिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरू पनि कारक रहेको ठहर गर्दै यस्ता साइट बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले प्रतिबन्ध लगाएको हो।

सूचना तथा प्रविधि मन्त्रालयले देशमा बढ्दो बलात्कार र महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले गत ५ असोजमा यस्ता साइट पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो। मुलुकी अपराध (संहिता) ऐन, २०७२ को दफा १२१ लाई टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएको हो। उक्त दफामा यौनजन्य अश्लील सामग्रीको आदान-प्रदान, प्रकाशन र प्रसारणमा बन्देज लगाइएको छ।

प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालका अनुसार पहिलो चरणअन्तर्गत यस्ता साइटको सहज पहुँचमा रोक लगाइएको र दोस्रो चरणमा भीपीएनलगायत प्रविधिबाट यस्तो साइट चलाउनेलाई निषेध गर्ने योजना छ।

सरकारको यो निर्णयको विषयमा चौतर्फी विरोध भइरहेको छ। नागरिकको अधिकारमाथि बन्देज लगाइएको, इन्टरनेटको पहुँचलाई खुम्च्याउन खोजिएको बताउँदै सामाजिक सञ्जालमा चर्को विरोध हुँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.