१६ मिनेटको म्युजिक भिडियोले कसरी हल्लायो गणतन्त्रको जग ?

रिपोर्ट नेपाल | 2022 Mar 15 | 07:52 am 3769

  • महेन्द्र पाण्डेय

लोकप्रिय गायक प्रकाश सपुतको ‘पिर’ शिर्षकको गीतको म्युजिक भिडियो युट्युबमा शुक्रबार रिलिज भएपछी मुलुक भित्र मात्रै होइन बाहिर पनि धेरै ठूलो तरंग उत्पन्न भएको छ । रिलिज भएको ४८ घण्टा वित्दा निवित्दै ट्रेण्डिङमा परिसकेको म्युजिक भिडियो पाँच दिन वित्दा नवित्दै म्युनिक भिडियो करिव एक करोडले हेरीसकेका छन् । लोकप्रियताको यो रेकर्ड नेपालमा अहिलेसम्म कुनै पनि म्युजिक भिडियोले कायम गर्न सकेका थिएनन् । केही वर्ष अघि गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ भन्ने म्युजिक भिडियोलाई समेत प्रकाश सपुतको ‘पिर’ ले उछिनेको छ ।

म्युजिक भिडियोले नेपालको सांगितिक क्षेत्रमा मात्रै नभएर राजनीतिक क्षेत्रमा समेत निकै ठूलो तरंग उत्पन्न गराएको छ । राजनीतिक कथावस्तु अर्थात माओवादी द्धन्दकालका छापामारको वर्तमान अवस्थालाई लिएर म्युजिक भिडियो निर्माण गरिएका कारण राजनीतिमा ठूलै तरंग आएको हो । माओवादी जनयुद्धले राजनीतिक परिवर्तन ल्याए पनि गरिब जनताको जीवनस्तर झन् झन् कष्टकर बन्दै गएको यर्थाथतालाई म्युजिक भिडियोमा मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । समान उद्देश्यका लागि एउटै मोर्चामा लडेकामध्ये कसैले करोडौं मुल्यका गाडी चढेर विलासी जिवन यापन गरिरहेको तर कोही भने जिविकोपार्जनका लागि यौन व्यवसाय गर्न वा विदेश पलायन हुन वाध्य भएको चित्रण म्युजिक भिडियोमा गरिएको छ । पूर्वलडाकुहरु बैदेशिक रोजगारीका क्रममा अलपत्र हुँदा समेत सत्तामा रहेका माओवादी नेताहरुले हारगुहार नसुनेको चित्रण पनि म्युजिक भिडियोमा गरिएको छ । तर यो म्युजिक भिडियो यर्थाथमा आधारित नभएर महान उद्देश्य हासिल गरेको जनयुद्धलाई बद्नाम गर्ने प्रतिगामी उद्देश्यका लागि आएको प्रतिक्रिया माओवादी पार्टी पंक्तिले दिएको छ । पूर्व लडाकुहरु यौन व्यवसायमा लागेको, सधैका लागि नेपाल छाड्ने निश्कर्षमा पुगेको, नेताहरु नवसामन्तवादमा परिणत भएको लगायतका कतिपय प्रसंगहरु तत्काल म्युजिक भिडियोबाट हटाउन माओवादी केन्द्रका जनविर्गय संगठनहरुले प्रेस विज्ञाप्ति निकालेर दबाव दिएका छन् ।

यता प्रचण्ड पछिको दोस्रो वरियातमा बसेर माओवादी जनयुद्ध हाँकेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने म्युजिक भिडियो यर्थाथमा आधारित भएको भन्दै आफूहरु सच्चिनु पर्ने बताएका छन् । कतिपय छापामारहरु विदेश पलायन हुन र यौन व्यवसाय गर्न बाध्य भएको कुरा आफूले समेत थाहा पाएको पूर्वप्रधानमन्त्री डा. भट्टराईको दावी छ ।

तर यति यथार्थबादी र लोकप्रिय हुँदा हुँदै पनि गल्ती महशुस गर्नुको सट्टा सत्तारुढ पार्टी माओवादी केन्द्रले आपत्ति जनाएको छ । म्युजिक भिडियो युट्युवबाट हटाउन धम्की दिने उद्देश्यले सत्तारुढ माओवादी केन्द्रले आफ्ना जनवर्गिय संगठनहरु परिचालन गरेको छ । माओवादी यसरी तर्सनुको मुख्य कारण हो ‘म्युजिक भिडियोको अत्यन्त चोटिलो र मार्मिक कथा बस्तु ।’

माओवादी जनयुद्धमा सामेल भएर लडेका घाइतेहरु परिवर्तन पछि अत्यन्त दयनीय जीवन विताउन बाध्य भएको, तर केही नेताहरु भने अत्यन्त संभ्रान्त बनेको विषयबस्तु म्युजिक भिडियोमा समेटिएको छ । यतिबेला म्युजिक भिडियोका सन्दर्भमा मुख्यतया चार वटा प्रश्न उठेका छन् । पहिलो प्रश्न हो –‘माओवादीका पुर्व लडाकुहरु जिविकोपार्जनका लागि यौन व्यवसाय अपनाउन र वैदेशिक रोजगारीमा जान वाध्य भएका छन् वा छैनन ? दोस्रो प्रश्न हो । माओवादी जनयुद्ध हाक्ने नेताहरुको जिवन शैली संभ्रान्त बनेको छ वा छैन ? तेस्रो प्रश्न हो । ‘माओवादीका लडाकुको रगत सँग साटिएको गणतन्त्र, संघीयता र समावेशिताको सदुपयोग भएको छ वा दुरुपयोग भएको छ ? चौथो प्रश्न हो । ‘मुलुकमा अभिव्यक्ति स्वतन्त्रता छ वा छैन ?

माओवादी द्धन्दका बेला बन्दुक बोकेर परिवर्तन र गणतन्त्रका लागी लडेका लडाकुहरुको कथा समेटिएको उक्त म्युजिक भिडियोमा एक लडाकु महिलाले जीवन धान्नका लागी यौन पेसा अपनाएको चित्रांकन गरिएको छ । यसैगरी अन्तरजातिय विवाह गरेका घाइते लडाकुको जोडि जीवन धान्न नसकेर विदेशीएको चित्रांकन गरिएको छ । विदेश जाँदा अलपत्र परे पछि उद्धारका लागि गुहार गर्दा नेताहरुले वास्ता नगरेको मार्मिक कथावस्तुलाई सजिव रुपमा चित्रण गरिएको छ । गीतको भिडिओमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ । भिडिओको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ । त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका हुन् । भिडिओमा ‘देहव्यापार गर्न लागेकी पूर्व लडाकु’ को भूमिका निर्वाह गरेकी कलाकार केशु पुन मगर (केशरी) स्वयं पनि सशस्त्र युद्ध हुँदा माओवादी पार्टीको सांस्कृतिक फाँटमा हुनुहुन्थ्यो । उहाँले शसस्त्र युद्धबीच करिव १० वर्ष माओवादीमा रहेर योगदान पुर्याउनु भएको हो ।

माओवादी जनयुद्धमा ज्यान हत्केलामा राखेर लडेका कार्यकर्ताहरु यतिबेला जिविकोपार्जनका लागि यौन पेशामा लाग्न बाध्य भएको कुरा यर्थाथ हो या काल्पनिक ? भन्ने प्रश्न नै यतिबेला सबै भन्दा पेचिलो र बिवादित बनेको छ । मिडियाले धेरै प्रश्नहरु कलाकार केशु पुनमगर माथि नै सोझ्याएका छन् । कलाकार केशुले चुनौति दिनु भएको छ । उहाँले भन्नु भएको छ । ‘म्युजिक भिडियोको विरोध गर्नु अघि यो कुरा यर्थाथ हो की होइन ? खोजविन गर्न म चुनौति दिन्छु ।’ उहाँले भन्नु भएको छ –‘हामीले बन्दुक उठाएनौँ, तर जनवादी कलाकारको रूपमा माइक उठायौँ । पार्टीको नारालाई आवाजमार्फत् उठायौँ । ज्यान जोखिममा राखेर सडक सडकमा नाच्दै हिँड्यौँ, तर बदलामा के पायौँ ? केही पनि छैन । हामीलाई नचाउनेहरूदेखि सँगै नाच्नेहरूले पद र प्रतिष्ठा कमाए । अब त बाटोमा कतै हामीसँग ठोक्किँदा समेत चिन्दैनन् ।’

उहाँले गणतन्त्र आएपछि आफू ‘जनवादी कलाकार’बाट ’कलाकार’ मात्र भएको जिकिर गर्दै भन्नु भएको छ–‘त्यसयता एक छाक खानकै लागि संघर्ष गर्न म आफै वाध्य छु, रक्सी खाएका मान्छेका अगाडि यौनको हाउभाउ देखाँउदै नाचेर प्राप्त भएको पैसाले जिविकोपार्जन गर्नु पर्दा म आफैलाई अत्यन्त पीडा बोध भइरहेको छ । भिडियोको कथावस्तुले थुप्रै महिला योद्धाहरूको वर्तमान परिस्थिति झल्काउने भएकाले भिडियोमा आफुले यौनकर्मीको भूमिका निर्वाह गरेको उहाँले बताउनु भएको छ । कलाकार केशुले भन्नु भएको छ–‘भिडिओमा देखाइएको कथा कसैमाथिको लाञ्छना होइन । परिस्थितिको चित्रण हो । जसमा सम्बन्धित पार्टीको ध्यानाकर्षण हुन आवश्यक छ । हाल भिडिओमा मैले निर्वाह गरेको चरित्रको विरोध हुनु भनेको आफ्ना योद्धाहरूको पीडादायी अवस्थाबारे माओवादीका ठूला नेता बेखबर छन् भन्ने प्रमाण हो ।’

कलाकार केशु मगर भिडिओको कथावस्तु काल्पनिक भए पनि पात्रहरू समाजबाटै टपक्क टिपेर पर्दामा उतारेको बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ । ‘यो भिडिओ आरोप होइन, बन्दुक बिसाए पनि पीर बिसाउने ठाउँ नभेटेकाहरूको कथा हो । १६ मिनेट लामो कथाले वर्षौँ लामो क्रान्तिलाई हल्लाउन सक्दैन । यथार्थले उहाँहरूलाई कमजोर तुल्याउन वा तहसनहस पार्नु हुँदैन ।’

गीतको भिडिओका सहनिर्देशक सुनिल विक ‘देहव्यापार’लाई पूर्वलडाकुहरूले भोगिरहेको अवस्थाको विम्बका रूपमा व्याख्या गर्नुहुन्छ । सह निर्देशक विकको भनाई छ । ‘एउटा कलात्मक विम्बमार्फत् समग्र अवस्था देखाउन खोजेका हौँ । तर त्यसलाई गलत बुझियो ।’ सह निर्देशक विकले भिडिओ विवादमा तानिएसँगै निर्माण समूहलाई सामाजिक सञ्जालमार्फत् भिडिओ हटाउन दबावपूर्ण सन्देशहरू आइरहेको उल्लेख गर्दै भन्नु भएको छ । ‘तर व्यक्तिगत रूपमा भने हामी कसैलाई पनि फोन वा जानकारी आएको छैन ।’

गाली र तालीको बाढी
दुई वर्ष अघि गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाँइदैन नेपालमै हो छुट’ बोलको म्युजिक भिडियो बजारमा ल्याउँदा मुख्य विरोधमा तत्कालिनक सत्तारुढ नेकपाका कार्यकर्ताहरु उत्रेका थिए । सत्तारुढ नेकपाको विरोधलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा झण्डे कार्यकर्ताहरुले पनि मौन समर्थन जनाएका थिए ।

तर यतिबेला प्रकाश सुपुतले ल्याएको पिर नामक म्युजिक भिडियोको प्रतिवादमा भने माओवादी केन्द्र एक्लै परेको छ । माओवादी केन्द्र बाहेकको राजनीतिक तप्का प्रकाश सपुतको पक्षमा उभिएको छ । यति मात्रै होइन माओवादीको तत्कालिन जनयुद्धमा सामेल हुने मध्ये पनि निकै ठूलो तप्का प्रकाश सपुतका पक्षमा उभिएको छ ।

निर्णायक क्रान्तिमा संलग्न हुनेमध्ये सिमित व्यक्ति शासक वर्गमा पुग्ने र अधिकांशको जीवन यथास्थिति भन्दा पनि तल झर्ने गरेको यथार्थता नेपालमा नयाँ होइन । २००७ सालको क्रान्तिमा संलग्न हुनेमध्ये सिमित व्यक्ति शासक वर्गमा रुपान्तरित भए, अधिकांशको जीवन स्तर जस्ताको तस्तै रह्यो । शासक बर्गमा रुपान्तरित हुनेहरुले आफ्ना सहयोद्धालाई विर्सेको मात्रै होइन शत्रुलाई जस्तो व्यवहार गर्न थाले । २०४६ सालको परिवर्तन पछि पनि त्यही भयो । प्रजातन्त्र पुनस्र्थापनाका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल भन्दा बढी योगदान पुर्याएकामध्ये शिब कंगाल वृद्ध अवस्थामा पनि ज्यामी काम गरिरहेका छन्, एलवी गुरुङ अर्काको जुठा भाँडा माझिरहेका छन् । आफु सत्तामा पुग्ना साथ देउवा तथा पौडेलले कंगाल तथा गुरुङलाई बर्गशत्रुको व्यवहार गर्न थालेको यर्थाथतालाई विर्सन मिल्दैन । त्यसैले २०६३ सालको परिवर्तन पछि पनि माओवादी भित्रै शासक बर्ग र शासित बर्ग जन्मनु, प्रचण्ड तथा उनको परिवारले तृणमुल तहमा छटपटिएर बसेका आफ्ना पूर्व छापामारहरुलाई बर्गशत्रु ठान्नु नेपालका सन्दर्भमा नयाँ होइन ।

प्रकाश सपुतले तयार गरेको म्युजिक भिडियोका प्रसंगहरु परिवर्तन गर्ने की ? नवसामन्तका रुपमा उदाएका माओवादी नेताहरुले आफ्नो जीवनी शैली परिवर्तन गर्ने ? भन्ने प्रश्न यतिबेला निकै पेचिलो बनेको छ । राज्य संयन्त्र आफ्नो हातमा भएकोले माओवादी नेताहरुले म्युजिक भिडियो हटाउन त सक्लान तर त्यतिन्जेल ३ करोड नेपालीले हेरिसक्छन्, युट्युवबाट हटाए पनि जनताको मानसपटलबाट हट्न सक्दैन । त्यसैले कुनै सर्जकलाई धम्की दिनु भन्दा आफ्नो चरित्र तथा जीवन शैली सुधार्ने दिशा तर्फ नबसामन्तहरुको ध्यान जानु जरुरी छ । कतिपय निर्दोष नागरिकको ज्यान लिइएको बाहेक, जनताको सम्पत्ति लुटिएको बाहेक माओवादी जनयुद्धका उज्याला पक्षहरु निकै महत्वपूर्ण छन् । गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता जस्ता महान उपलव्धिको जस माओवादीलाई दिनु पर्छ । तर व्यवहारमा माआवादीले यी उपलव्धीलाई के कसरी कार्यान्वयन गरेको छ ? भनेर प्रश्न राख्ने अधिकार पूर्वलडाकुलाई छ । समानुपातिक समावेशिता प्रचण्डका छोरी बुहारीलाई निरन्तर सत्तामा राखेर जनयुद्धमा घाइते बनेका महिला छापामारलाई यौन व्यवसायमा धकेल्नका लागि निश्चिय पनि होइन । सदियौंदेखि पछि परेका सिमान्तकृत वर्गलाई राज्य संचालनका मुलधारमा ल्याउनका लागि अपनाइएको विधि हो समानुपातिक समावेशिता । तत्कालिन राजामहाराजाहरुको भन्दा चर्को बिलाशी जीवन शैलीमा प्रचण्डको परिवारलाई पुर्याउनका लागि गणतन्त्र स्थापना गरिएको होइन । प्रकाश सुपतको म्युजिक भिडियोमा उल्लेख गरे जस्तो देश भनेको टाठा बाठाले लुटिखाने चार किल्ला भित्रका माटो होइन, यो चार किल्ला भित्र बस्ने जनताको साझा प्रयत्न नै देश हो ।

कहाँ गयो २५ अर्ब ?
सबै भन्दा ठूलो विडम्वना के हो भने शान्ति प्रक्रिया सुरु भइसके पछि लडाकु तथा घाइतेका लागि भन्दै माओवादी केन्द्रले राज्यको ढुकुटीबाट २५ अर्ब रुपैंया लगेको थियो । त्यो २५ अर्ब रुपैंया कसकसलाई प्रदान गरियो ? भन्ने हिसाव किताव माओवादीले अझै बुझाउन सकेको छैन ।
राज्यको ढुकुटी भनेको व्यक्तिगत ढुकुटी जस्तो होइन, राज्यको ढुकुटीबाट गरिएको खर्चको एक एक हिसाव किताव देखाउनु पर्ने हुन्छ ।

एकातिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले बास्तविक लडाकुको संख्या ५ देखि ७ हजार भए पनि आफूहरुले ३० हजार संख्या देखाएको सगौरव बताउनु भएको थियो । ३० हजार लडाकुलाई व्यवस्थापनका लागि भन्दै राज्यको ढुकुटीबाट २५ अर्ब रुपैंया लगियो । तर त्यो रकम कहाँ गयो ? प्रकाश सपुतको म्युजिक भिडियो माओवादीका लागि टाउको दुखाईको विषय हुनुको मुख्य कारण यही हो ।

माओवादी जनयुद्धमा सामेल भई ज्यान हत्केलामा राखेर लडेका घाइतेहको अवस्था दयनीय हुनु एउटा पाटो हो भने अर्को पाटो भनेको माओवादी जनयुद्धले मुलुकमा दिएको उपलव्धी हो । गणतन्त्र, संघीयता र समानुपातिक समावेशितालाई सामान्य उपलव्धी भन्न मिल्दैन । यस्ता उपलव्धी हासिल गर्ने क्रान्तिलाई कुनै पनि हालतमा नजर अन्दाज गर्न मिल्दैन । तर यी उपलव्धीहरुको दुरुपयोग भएको छ की सदुपयोग भएको छ ? भन्ने प्रश्न भने सामान्य पेचिलो छैन ।

मुलुकमा गणतन्त्र त आयो तर तत्कालिन राजा तथा राजपरिवारको भन्दा पनि भड्किलो जीवन शैलीमा माओवादी नेताहरु पुगेका छन् की छैनन् ? भन्ने प्रश्नलाई नजर अन्दाज गर्न मिल्दैन । संघीयताका मामिलामा जनताका केही प्रश्नभए पनि, समानुपातिक समावेशितालाई जनताले धेरै ठूलो उपलव्धी ठानेका छन् । तर महिला आरक्षणका नाममा प्रचण्डका छोरी बुहारीलाई अवसर दिनु समावेशिता हो की होइन ? भन्ने अर्को प्रश्न उठेको छ । यसैगरी मधेसी आरक्षणका नाममा विनोद चौधरी, राज्यलक्ष्मी गोल्छा लगायतलाई अवसर दिनु, जनजाति आरक्षणका नाममा उमेश श्रेष्ठ, खेम्पो छिमे छिरिङ ल्हार क्याल लामा लगायतलाई अवसर दिनु समावेशिता होकी होइन ? भन्ने प्रश्न पनि त्यतिकै पेचिलो छ । त्यसैले प्रकाश सपुतको म्युजिक भिडियोका सन्दर्भमा विरोध जति छ , त्यो भन्दा समर्थन धेरै देखिएको छ ।

यसैगरी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रद्धारा भिडियोमा राखिएको दृश्य प्रति असहमति जनाउदै बिरोध भई रहेको छ । अर्कोतिर माओवादी जनयुद्धमा लड्नेमध्ये डा. बाबुराम भट्टराई, मोहन बैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, रामवहादुर थापा बादल लगायतको समुहले भने यर्थाथमा आधारित म्युजिक भिडियो हेर्न र सुन्नका लागि सबैलाई अपिल गरेको छ ।

बिशेषगरी प्रचण्ड नेतृत्वको माओवादी पार्टीका विद्यार्थी नेता कलाकारले उक्त भिडियोको बिरोध गर्दै सपुतलाई हटाउन चेतावनी दिएका छन् । केहि बिरोध र समर्थन बीच सामाजिक संजाल फेसबुक पनि तातेको छ । माओवादीकी सांसद यशोदा सुवेदीले आफूहरूलाई सार्वजनिक गीतको शब्द र लयसँग नभई भिडिओको केही अंशप्रति समस्या भएको बताउनु भएको छ । उहाँले भन्नु भएको छ । ‘जनयुद्धबाट आएका र यसलाई बुझ्न चाहेकाहरूले आन्दोलनको आलोचनात्मक समर्थन र विरोध जनाउन सक्छन् । सुझाव दिन सक्छन् । तर आन्दोलनमा सहभागी महिलालाई देहव्यापारसँग जोडेर चरित्रमाथि प्रश्न उठाउन पाउँदैनन् ।’ सांसद सुवेदीका अनुसार लडाकु पात्रको चित्रण आपत्तिजनक, खेदजनक र दण्डनीय छ । यो सामग्रीले गाली बेइजत्तीविरुद्धको कानुन आकर्षित गर्छ ।’
बागमती प्रदेशसभा सदस्य कञ्चन खनालले भिडियोलाई ‘परिवर्तनको निम्ति निःस्वार्थ मृत्युसँग जुधेका समग्र योद्धाहरूको जीवनमाथि भद्दा मजाक’ को संज्ञा दिनु भएको छ । उहाँको भनाई छ । ‘गरिबीलाई देहव्यापारसँग जोडेर नारी अस्मितामाथि उक्त म्युजिक भिडिओले उठाएको प्रश्न अक्षम्य र दण्डनीय छ ।

यता माओवादी जनयुद्धका बेला प्रचण्ड पछिको दोस्रो बरियातमा रहनु भएका नेता डा. बाबुराम भट्टराईले प्रकाश सपुतको म्युजिक भिडियो यर्थाथतामा आधारित भएको दावी गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले भन्नु भएको छ । ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ ।’ डा. भट्टराइले सर्जकलाई धम्काउनुको साटो क्रान्तिलाई नयाँ ढङ्गबाट अगाडि बढाउनु उचित हुने बताउँदै भन्नु भएको छ । ‘महिलाहरू आफ्नो सन्तान र श्रीमान्को उपचारका निम्ति देह बेच्न बाध्य भएको तथ्य मैले अनुसन्धानको क्रममा प्रत्यक्ष बुझेको छु । हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् । तीतो सत्य स्वीकारौँ ।’

प्रचण्डले सोच्नु पर्ने कुरा
यदि कुनै पनि गित वा सिर्जनाले कुनै व्यवस्था, पार्टी हल्लिन्छ भने सिर्जना बलियो हैन, त्यो व्यवस्था र पार्टी कमजोर हो । आफ्नो कमजोरीलाई हटाउनलाई धम्काएर हटाउने हैन कि उसले भनेको गल्ती कुरालाई सुधार्ने हो । परिवर्तन भनेको नै यहि हो । हिँजो राणाकालमा सुब्बा कृष्णलाल अधिकारीले मकैको खेति नामक पुस्तक लेख्दा सत्ता यसरी नै हल्लिएको थियो । यद्यपी मकैको खेति त्यति बलियो सिर्जना भने थिएन ।
यतिबेला प्रकाश सपुतले ल्याएको ‘पिर म्युजिक भिडिओ’ एउटा सिर्जना र गीत मात्रै नभएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माथिको बेजोड प्रश्न हो । यस्ता गीतहरु सर्जकका रहर युगका आवाज हुन् । सर्जक भनेका त युगका आवाज बोल्ने माध्यम मात्रै हुन् । आफ्ना झण्डे कार्यकर्तालाई सिर्जनाको विरोधमा उतार्न पैसा खर्च गर्नु भन्दा त्यो पैसा जनयुद्धका क्रममा घाइते भएर दयनीय अवस्था बेहोर्न वाध्य पीडितहरुको घाउमा मलाम पट्टी लगाउन खर्च गर्नु स्वयं प्रचण्डका लागि पनि श्रेयकर छ ।

सर्जक प्रकाश सपुतले जुन वेदना समाजमा ल्याएका छन् त्यो तितो सत्यलाई सबैले मनन् गरेर अगाडी बढ्न जरुरी छ । स्याबास प्रकाश तिमिले यस्तै उज्यालो छर्कदै जानु तिमि साच्चैका सपुत हुनेछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.