कठमाडौँ, भदौ ८ः ‘तपाईंको मास्क खै ? ’ कार्यक्रम अन्तर्गत मंगलबार १५ हजार ४९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खै ? ’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १५ हजार ४९ जनालाई निःशुल्क मास्क वितरण गरिएको हो ।
वैशाख ६ गतेदेखि हालसम्म जम्मा नाै लाख ७० हजार ८३७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड –१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४७० जनालाई ३७ हजार छ सय रुपियाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार ५२३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको र देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको ११३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत १३ हजार ९५० जनालाई सचेत गराइएको प्रहरीले जनाएको छ ।