माेरङ, फागुन १२ः नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ रानीबाट मानव खप्पर (कंकाल) सहित १ जना पक्राउ परेका छन्।
१५ थान मानव खप्परसहित विराटनगर–१७ का विनोद रायलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार रायको घरमा मानव खप्पर राखेको छ भन्ने सूचनाका आधारमा शुक्रबार बिहान ११ बजेतिर छापा मार्दा खप्पर भेटिएको हो।
मानव खप्परसहित पक्राउ परेका रायलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान थालेको छ। पक्राउ गरिएकाे रायको घरमा फेला परेको मानव खप्परबारे केही नखुलेको बताउँदै, डिएसपी कार्कीले भने, ‘अब उनलाई सोधपुछ गरी थप अनुसन्धान पश्चात किन, कहाँबाट ल्याएको र के का लागि राखेको भन्ने खुल्छ।’
यस अघि पनि सशस्त्र प्रहरीले २ पटक मानव कंकालसहित मानिस पक्राउ गरी नेपाल प्रहरीलाई थप अनुसन्धान गर्न जिम्मा दिएको थियो। त्यस समय पक्राउ परे पनि यसको प्रयोग कहाँ र किन हुँदैछ भन्ने कुरा खुल्न सकेको छैन।