काठमाडौं, पुस ६ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक कुलो व्यक्तिको नाममा दर्ता गर्ने १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले नापी कार्यालय भैरहवा रूपन्देहीका तत्कालीन नापी अधिकृत ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्भेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
कर्मचारी तथा जग्गाधनीसमेत मिलेर रूपन्देही, साबिक दुधराक्ष गाविस वडा नम्बर ७ क र ऐ. गाविस वडा नम्बर २ क को जग्गा नापी कार्यालय, रूपन्देहीका कर्मचारी तथा जग्गाधनीसमेत मिली फायल नक्सा तयार पारेर व्यक्तिको नाममा कायम भएको अनुसन्धानमा खुलेपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
नियमविपरीत बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी जिल्ला रूपन्देही साबिक दुधराक्ष गाविस वडा नम्बर ७ ‘क’ को कित्ता नम्बर ८५४ को पूर्व र उत्तर पूर्वतर्फको सरकारी सार्वजनिक कुलोको ४१७.८६ वर्गमिटर क्षेत्रफल र ऐ. गाविस २ ‘क’को कित्ता नम्बर ६५२ मा दक्षिणतर्फको सार्वजनिक कुलोको ७६.८७ वर्गमिटर क्षेत्रफल गरी जम्मा ४९४.७३ वर्गमिटर जग्गा फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएको आयोगको भनाइ छ ।
साबिक दुधराक्ष गाविस वडा नम्बर १ देखि ९ सम्मको भित्री ग्राभेल सडक भएको जग्गाको आव २०७९÷८० को प्रतिकठ्ठा न्यूनतम मूल्यांकनअनुसार सो घुसाएको जग्गाको १० लाख ६५ हजार २ सय ५ रुपैयाँ ५० पैसाबराबरको सरकारी सार्वजनिक जग्गा घुसाइ फाइल नक्सा उनीहरूले तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ । उनीहरूविरुद्ध सजायको माग दाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । राजधानी दैनिकबाट