१२ विरुद्ध कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

रिपोर्ट नेपाल | 2023 Mar 21 | 07:48 am 1081

काठमाडौं, चैत ७ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्रका कालिकोटका तत्कालीन निमित्त प्रमुख भरतबहादुर बस्नेतलगायत १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी स्रोतबाट प्राप्त भएको रकम दुरुपयोग गरी गलत प्रतिवेदन बनाई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

सरकारी अनुदानको पेस्की रकममा सम्झौताबमोजिम काम नगरी हिनामिना गरेको भन्ने उजुरीमाथि छानबिन गर्दा आयोगले भ्रष्टाचार भएको फेला परेको जनाएको छ ।

आयोगले हाल कृषि विकास कार्यालय, कालिकोटमा कार्यररत बस्नेत, मूल्यांकन तथा छनोट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ कृषि विकास सहकारी संस्थाउपर गैरकानुनी लाभ तथा हानि गरी भ्रष्टाचार गरेको दाबी गर्दै सोमबार मुद्दा दायर गरेको हो ।

सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेड, रास्कोट ३, कालिकोटले उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि उपलब्ध गराएको सरकारी अनुदानको पेस्की रकम हिनामिना गरेको, कृषि ज्ञान केन्द्र, कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेत, खाँडाचक्र नगरपालिका, कालिकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, कालिकोटका तत्कालीन सबइन्जिनियर गुरुराज सन्ज्यालविरुद्ध मुद्दा दर्ता भएको छ ।

सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडबाट जडान भएका मालसामानको अवलोकन तथा परीक्षण नै नगरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी सोही प्रतिवेदनसमेतका आधारमा ६६ लाख ५० हजार रुपैयाँ भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै उनीहरूमाथि मुद्दा चलाइएको हो । मूल्यांकन तथा छनोट समितिका पदाधिकारी हरिप्रसाद पण्डित, श्रीधर अधिकारी, दीपककुमार भण्डारी, हिरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा र होमनाथ लम्सालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.