१० वर्षीया बालिकाको बलात्‍कारपछि हत्या

| 2018 Oct 14 | 07:09 am 1980

जनकपुर, असोज २८: धनुषाको औरही–२, परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । शुक्रबार साँझबाट हराएकी उनको शव शनिबार अपराह्न गाउँनजिकैको धानखेतमा भेटिएको छ ।

घरनजिकै लागेको दुर्गा पूजा हेर्न गएकी उनलाई चिनजानकै दुई युवकले फकाएर एकान्तमा लगी बलात्कारपछि हत्या गरेका हुन्। घटनामा संलग्न स्थानीय विनोद मुखिया विन र नथुनी पण्डित कुमहारलाई धनुषा प्रहरीले शनिबारै पक्राउ गरेको छ। एसपी गोविन्द थपलियाका अनुसार खाजा खुवाउने प्रलोभनमा बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार र हत्या गरेको उनीहरूले बताएका छन्।

मेला हेर्न पुगेकी बालिकालाई उनीहरूले खाजा खर्च भन्दै १० रुपैयाँ दिएर एकान्तमा लगेका थिए। अनुसन्धानमा खटिएका डीएसपी दीपेन्द्र शाहीले बालिकालाई एकान्त चौरमा लगेर बलात्कार गरेको र घटना लुकाउन बालिकाको हत्या गरेको जनाए। ‘बलात्कारबारे गाउँ–समाजमा बताइदिने भयले बालिकाको हत्या गरेको उनीहरूले बताएका छन्,’ शाहीले भने।

दुई युवकले बालिकालाई एकान्ततिर लगेको गाउँकै अर्की बालिकाले देखेकी थिइन्। तिनैको भनाइका आधारमा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको हो। बलात्कारपछि उनीहरूले बालिकाको नाक–मुख थुनेर हत्या गरेको प्रहरीले जनाएको छ। डीएसपी शाहीका अनुसार हत्यापछि बालिकाको शव चौरनजिकै रहेको धानखेतमा पुरेर उनीहरू घर फर्किएका थिए।

बालिका अबेर साँझसम्म पनि मेलाबाट घर नफर्किएपछि परिवारले रातभर खोजतलास गरेको थियो। नभेटिएपछि बिहान मात्रै प्रहरीलाई खबर गरेका थिए। माछा मार्दै हिँडेका बालबालिकाले धानखेतमा शव देखेपछि हल्ला गरेका थिए। बालिकाको शव जनकपुर अञ्चल अस्पताल ल्याइएको र आइतबार पोस्टमार्टम हुने अस्पतालका निमित्त प्रमुख डा कुलदीप पण्डितले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.