पाेखरा, असाेज १० : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्दा पनि दाेषी पत्ता लगाउन नसकेको भन्दै आलोचित बनिरहेका प्रहरीले पोखराकी बालिकाकाे हत्यारालाई २४ घण्टा नबित्दै सार्वजनिक गरेको छ । १० वर्षीया बालिका श्रेया विकको हत्यामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको हो।
बिस्कुट किन्न भनेर हिँडेकी श्रेयालाई पौडेल शुरुमा पाँच रुपैयाँ दिएर फकाएका थिए । उनले नमानेपछि १० रुपैयाँ दिएर बलात्कार गर्न खाेजेका थिए । बालिकाले प्रतिकार गरेपछि पानी ट्यांकीमुनि झाडीमा धकेलिदिएका थिए । बालिका झाडीमा खसेपछि त्यही गएर फेरि बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि दुवै हातले घाँटी थिचेका थिए । बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर पौडेलले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेकाे कास्की प्रहरीले जनाएकाे छ ।
बालिकाको हत्यापछि उनी पुनः भट्टीमा पुगेका थिए । श्रेया सोमबार विद्यालयबाट फर्कनेबित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, त्यही बेला मदिराले लठ्ठ भएका पौडेलले बलात्कार प्रयास गरी हत्या गरेको खुलेको छ । बालिका साँझ अवेरसम्म पनि घर नआएपछि परिवारको सदस्यले खोजि गर्दा पनि भेटेका थिएनन् । तर श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् ।
स्थानीय वासिन्दाले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रहरी कार्यालय बाहिर नाराबाजी गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेको छ ।