होटेल छन् ग्राहक छैनन्

| 2022 Dec 22 | 07:15 am 1781

दाेलखा, पुस ७ः धार्मिक पर्यटन गन्तव्य समेत रहेको दोलखाको सदरमुकाम चरीकोट आउँदो मङ्सिर ४ गते तोकिएको सङ्घ तथा प्रदेशको चुनावी माहौलले बजारका चिया पसलमा केही चहलपहल बढे पनि पर्यटक आगमन भने शून्य जस्तै भएपछि यति बेला सुनसान बनेको छ ।

गत दुई वर्षको लगातारको कोराेनाले थलिएको चरिकोट अहिले पनि पुरानै लयमा आउन नसकेपछि सुनसान बनेको बताइएको छ । राजधानी काठमाडौँबाट १३३ किलोमिटर दूरीमा रहेको सदरमुकाम चरिकोट विशेष गरी दोलखा भीमेश्वर, कालिन्चोक, चरिघ्याङ गुम्बा, सैलुङ, जिरी, हनुमन्तेडाँडा लगायत मुख्य धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण मानिन्छ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई जल पर्यटनका रूपमा लिएर केही वर्ष अघिसम्म ती गन्तव्य घुम्न आउने पर्यटकको घुइँचो यहाँ थेगिनसक्नु हुन्थ्यो । यही घुइँचोले सदरमुकाम चरिकोटसहित आसपासमा थुप्रै सुविधा सम्पन्न होटेल निर्माण भए । अझ यहाँ बनेका अधिकांश नयाँ घरलाई होटेलका रूपमा पनि प्रयोग गरियो । विशेष गरेर आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने दोलखामा पछिल्लो समय पर्यटक चहलपहल घटेको छ । अहिले पर्यटक हत्तपत्त चरिकोट बस्न नरुचाउने गरेको पाइएको छ ।

सुविधा सम्पन्न होटेलको महसुस गरी चरिकोटमा एक वर्षअघि दुई तारे होटेल एम्ब्रोसियाका सञ्चालनमा पनि आयो । सञ्चालक दिनेश बस्नेतले गुनासो गर्दै भने, सुविधा सम्पन्न होटेल हुँदाहुँदै पर्यटकको चरिकोट बसाइ पातलो हुँदै गएको छ । कतिपय पर्यटक काठमाडौँबाट बिहानै दोलखा भीमेश्वर मन्दिर दर्शन गरी बेलुका फर्कने र कालिन्चोक मन्दिर जाने उतै बस्ने गरेका छन् ।

पछिल्लो समय अरु होटेलभन्दा सुविधा सम्पन्न होटेल खोज्नेको रोजाइमा बस्नेतको होटेल एम्ब्रोसिया पर्न थालेको छ यहाँ पहिलो पटक दुईचारे स्तरको होटेल सञ्चालनमा आएपछि पनि केही पर्यटक बास बस्न थालेको व्यवसायीहरूको भनाइ रहेको छ ।

होटेल सङ्गम प्यालेसका सञ्चालक सुदर्शन कार्कीले पहिलाको दाँजोमा होटेलहरू सुस्ताएको बताए। उनले भने, पर्यटक आगमन मात्र नभई मुख्य त आर्थिक मन्दी हो । प्रचारप्रसारको कमी र सडकको दुरवस्थाले पनि असर पारेको छ । विभिन्न संघसस्थाले गर्ने कार्यक्रमसमेत पनि घटेका छन् । विशेष गरी स्थानीय तह केन्द्रित भएपछि सङ्घसंस्था पनि सदरमुकाम आउन छाडेका छन् ।

होटेल सङ्घ दोलखाका अध्यक्ष रञ्जित पाठकले कोभिड १९ महामारीको प्रभाव दोलखाका होटेलमा अहिले पनि परिरहेको जानकारी दिँदै भने, आर्थिक मन्दी मुख्य कारक बनेको छ । हिलाम्मे र धुलोले पनि आयातमा असर परेको छ । सिंहदरबार गाउँ गाउँमा हुइमले पनि प्रभाव परेको छ ।

उनले भने, दोलखामा १६० भन्दा बढी होटेलमध्ये सङ्घमा १०५ ले  होटेल दर्ता रहेका छन् ।  एउटा सामान्य होटेलमा समेत ४५ लाख रुपियाँभन्दा बढी लगानी भएको छ भने समग्र जग्गा र होटेलसहित करिब एक अर्ब रुपियाँभन्दा बढी लगानी भएको छ ।

लगानीका हिसाबले होटेलमा ठुलो रकम खर्च भए पनि पर्यटक आगमन कम हुँदा जोखिम बढ्दै गएको छ । होटेल सङ्घका अध्यक्ष पाठकले पछिल्लो समय चरिकोटका केही होटेल बन्दसमेत भएका अध्यक्ष पाठकले बताए ।

सञ्चालनमा रहेका होटेलमा पनि कर्मचारी अभाव छ । भएका कर्मचारी पनि अन्य क्षेत्रमा गइसकेका कारण हाल सञ्चालनमा रहेका होटेल घरका परिवारले नै चलाइरहेको एक व्यवसायीले जानकारी दिए ।

होटेलमा कर्मचारी अभाव मात्र होइन, बैङ्कले समेत व्याज र किस्तामा कडाइ गर्न थालेको छ । यही अवस्था रहँदै गए अबको केही महिनाभित्र यहाँका धेरै होटेलमा ताला लाग्न सक्ने अवस्था आउने अर्का एक व्यवसायीले बताए ।

बैङ्कहरूले पनि सुरु–सुरुमा सस्तो व्याजमा अन्धाधुन्ध घरजग्गामा लगानी बढाएको र अहिले व्याज बढाएपछि व्यवसायी थप मर्कामा परेका छन् । व्याज र किस्ता तिर्न सक्ने अवस्था अहिले नरहेकाले धेरै होटेल लिलामीमा जान सक्ने पनि बताइन्छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.