हुसेन हत्याको विरोधमा गृहमन्त्रीको राजीनामा माग गर्दै शवसहित प्रदर्शन

| 2018 Nov 21 | 02:42 pm 2195

विराटनगर, मंसिर ५ : सुनसरीको दुहबीमा मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा मृतकको शवसहित स्थानीयले प्रदर्शन गरेका छन् । विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शनमाउत्रिएका  उनीहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गरेका छन् ।

उनीहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने, मृतक हुसेन विद्युत प्राधिकरणका जागिरे भएकाले उनको ठाउँमा छोरालाई जागिर दिनुपर्ने मागसमेत गरेका छन् ।

स्थानीयले हुसेनको शवलाई गाडीमा राखेर सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण विराटनगर इटहरी खण्डमा आवागमन बन्द भएको छ ।

दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजरसमेत रहेका हुसेनको बुधबार विहान साढे ६ बजे गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा उनीमाथि गोली हानेका थिए । हुसेनलार्इ उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.