हुम्लामा नौ जनाको मृत्यु भएपछि चिकित्सकको टोली र औषधी पुग्यो

रिपोर्ट नेपाल | 2019 Apr 28 | 02:38 pm 2638

हुम्ला, वैशाख १५ : हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको रुघाखोकीको प्रकोपले नौ जनाको मृत्यु भएपछि हेलिकोप्टरमा चिकित्सक टोली गाउँ पुगेको छ । सेनाको हेलिकोप्टरमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. तेजराज भट्टराई, हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याव असिस्टेन्ट धर्म अधिकारीसहितको टोली आवश्यक औषधी र नमूना संकलन गर्ने आवश्यक समाग्रीहरु सहित प्रभावित स्थलमा आइतबार पुगेको हाे ।

प्रभावित क्षेत्र सदरमुकामबाट चार दिन टाढा पैदल हिँडेर पुग्न सकिने भएकाले प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र कर्णाली प्रदेशका सामाजिक विकसमन्त्री दल रावलले हेलिकोप्टरका लागि गृहमन्त्रालयमा पहल गरेका थिए ।

हुम्लाको उक्त गाउँपालिकामा पहिचान नभएको रोगका कारण मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । सोही गाउँपालिका–१, २ र ३ थुप्रै मानिस थला परेको जनाइएको छ ।

अज्ञात रोगका कारण एक जनाको चैत २६ गते र अन्य आठको वैशाख पहिलो सातादेखि अहिलेसम्म मृत्यु भइसकेको छ मैला स्वास्थ्यचौकीका अहेब मोतिलाल जैसीका अनुसार मृत्यु हुनेमा दुई बालक र सात वृद्ध छन् । शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको थियो ।

यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार छन् ।

यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.