हुम्लामा दैनिक उपभोग्य वस्तुकाे ढुवानी खच्चरकै भरमा

रिपोर्ट नेपाल | 2019 Aug 26 | 07:22 am 1854

हुम्ला,  भदाै ९: राष्ट्रिय सडक सञ्जालले नछोएको नेपालको १ मात्र जिल्ला हुम्लामा खच्चरबाटै सरसामान तथा खाद्यान्न ओसार्ने गरिएको छ । स्थानीय बासिन्दाका दैनिक उपभोग्य वस्तुसँगै खाद्यान्न पनि खच्चरको भरमा छ। अहिले हुम्लामा खच्चर व्यवसायीको आम्दानीको स्रोत पनि सामान ढुवानी नै बनेको छ।

दैनिक सयौं खच्चरले मुगु र बाजुराबाट हुम्लाका लागि उपभोग्य सामान ढुवानी ओसार्छन्। मुगु सदरमुकाम गमगढी र बाजुराको कोल्टीसम्म सडक पुगेको छ । त्यहाँबाट हुम्लाका ६ वटा गाउँपालिकामा दैनिक उपभोग्य वस्तु र विकास निर्माणका सामग्री आयात हुने गरेको छ ।

हवाईजहाजभन्दा बाजुरा र मुगुबाट सामग्री ढुवानी गर्दा सस्तो पर्ने भएकाले सामग्री आयात गर्न खच्चर प्रयोग गर्ने गरिएको सिमकोटका व्यवसायी लक्ष्मण ऐडीले बताए। केही सहज र सस्तो पर्ने भएकाले बाजुराबाट भन्दा मुगुबाट नै दैनिक उपभोग्य वस्तु र विकास निर्माणका सामग्री आयात गर्ने गरेको ऐडीले बताए।

सीधै हवाईमार्गबाट ढुवानी गर्दा प्रतिकिलोग्राम एक सय २० देखि एक सय ३० रुपैयाँमा सिमकोट पुग्छ । तर, खच्चरबाट ल्याउँदा ७० देखि ८० रुपैयाँमा सिमकोट पुग्ने गरेको उनको भनाइ छ।

सिमकोटदेखि मुगुसम्म बाटोमा पर्ने दर्जनौं होटेलहरुको मुख्य आयस्रोतको माध्यम बनेको छ खच्चर व्यवसाय। तिनीहरूको कारोबार पनि खच्चरले धानेको चंखेली गाउँपालिका–४ का झक्क रोकायाले बताए । सामान ढुवानी गर्दा कमाइ राम्रो हुने भएकाले खच्चरको संख्या पनि बढेको उनले बताए ।

नेपाल खाद्य संस्थानले पनि खच्चरबाटै चामल ढुवानी गर्दै आएको छ । गमगढीबाट हुम्लाको सर्केगाड, देउली र सदरमुकाम सिमकोटका खाद्य डिपोमा समेत खच्चरमै चामल ढुवानी हुन्छ । जहाजभन्दा सस्तो पर्ने भएकाले खच्चरबाटै ढुवानी गरिँदै आएको नेपाल खाद्य संस्थानका निमित्त प्रमुख सुरेन्द्र पोखरेलले बताए ।

नेपालगन्ज र सुर्खेतबाट हुम्लाका लागि संस्थानले चामल ल्याउने गरेको छ । त्यहाँबाट सीधै हवाईमार्गबाट ढुवानी गर्दा प्रतिकिलोग्राम एक सय २० रुपैयाँमा सिमकोट पुग्छ । तर, खच्चरबाट ल्याउँदा ६० देखि ७० रुपैयाँसम्म सिमकोट पुग्ने गरेको पोखरेलले बताए। पछिल्लो समयमा गाउँगाउँमा खच्चरको माग बढेकाले खच्चर व्यापार बढ्नुका साथै यसको मूल्यमा पनि वृद्धि भएको खच्चर व्यवसायी नर भण्डरीले बताए ।

उनका अनुसार जहाजबाट सामान आयात गर्दा कहिले त बुकिङ गरेको सात महिनासम्म पनि सामान आउँदैन। कोही सामान त उपभोग गर्ने अवधि सकिएर त्यहीं फाल्नुपर्ने अवस्था आउँने जनाए। सामानको ढुवानी पनि सस्तो हुने र सामान पनि छिटोछरितो पुग्ने भएकाले व्यवसायीले खच्चर प्रयोग गर्ने गरेको भण्डारीले बताए। आजकाे नागरिक न्युज दैनिकमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.