कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका चिकित्सक गोविन्द केसीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । विहिबार दिउँसो उनलाई लिन गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीमाथि प्रतिष्ठानभित्रै हुलहुज्जतका साथ आक्रमण गरिएको नेपाल प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार चिकित्सक केसीलाई काठमाडौं ल्याउने क्रममा प्रतिष्ठान हाताभित्र प्रहरीमाथि सिसा तथा चिर्पट प्रहार गरी हुलहुज्जत गर्दा प्रहरीतर्फ प्रहरी अधिकृतसहित तीनजना प्रहरी घाइते भएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी जवान कमल आचार्यको छातीमा सिसाको टुक्रा र प्रहार गरिएको चिर्पटमा रहेको किला गडेर गम्भीर घाइते भएकोमा हाल निजको सोही प्रतिष्ठानमा शल्यक्रिया लगायतका उपचारहरु भइरहेको छ । यसै विषयलाई लिएर कतिपय अनलाइन र केहि न्युज च्यानलहरुमा प्रहरीले गोली प्रहार गरेको र एकजना प्रहरी जवानको गोली लागि मृत्यु भएको भन्ने समाचारहरु प्रेषित भएकोमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ, सो सम्बन्धमा नेपाल प्रहरीवाट गोली नचलाएको र हालसम्म कोही पनि हताहत नभएको जानकारी गराईन्छ ।’
समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार संप्रेषण गर्ने र मृत्युजस्तो मानवीय संवेदनाको बिषयमा सूचनाको आधिकारिक पुष्टि समेत नगरी समाचार सम्प्रेषण गर्दा त्यसबाट सम्बन्धित संगठन र निजको परिवारमा मानसिक एवं भावनात्मक आघात पर्न जाने र पाठक वर्गको सही सूचना प्राप्त गर्ने हकसमेत कुण्ठित हुने हुँदा यसरी समाचार प्रेषित गर्दा संवेदनशिल एवं जवाफदेही भई सम्प्रेषण गर्न नेपाल प्रहरीले अपिल समेत गरेको छ ।